६० किमिको लक्ष्य, ३० किमि मात्रै कालोे

बिजौरी । एक वर्षमै कम्तिमा ६० किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएर तुलसीपुर उपमहानगरपालिकामा स्थापना भएको तुलसीपुर पूर्वाधार विकास प्राधिकरणले विगत दुई वर्षमा ३० किमि सडक मात्र कालो बनाएको छ । नाला समेत निर्माण नगरी निर्माण भएका सडकलाई स्थानीयबासीले कालोपत्रे सडक नभनेर कालो सडक मात्र भन्ने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका विशेषगरी सडक निर्माणलाई एकत्रित एवं व्यवस्थित गरी सस्तो मुल्यमा गुणस्तरमा समेत एकरुपता हुने गरी वि.सं. २०७६ सालमा प्राधिकरण गठन भएको हो । प्राधिकरण गठन भएसँगै तुलसीपुर उपमहानगरपालिकाले करीव ५ करोड रुपैयाँ बराबर रकम खर्च गरी श्रोतसाधन समेत व्यवस्थापन गरेको छ ।

प्राधिकरणकै स्वामित्वमा हाल एउटा ग्रेडर, २ वटा रोलर, एउटा स्काभेटर दुई वटा टिप्पर, दुई वटा हट मिक्सचर प्लान्ट, एउटा विटुमिन डिस्ट्रिव्युटर दुई वटा जेसिवि समेत खरीद गरिसकेको छ । त्यसैगरी प्राधिकरणमा एक जना इन्जिनियर, ओभरसियर ३ जना, दुई जना सुपरभाइजर र यान्त्रिक साधन हेर्ने एक जना तथा सबै मेसिनमा दुई/दुईजना चालक समेत कार्यरत छन् ।

यतिधेरै श्रोत साधनको व्यवस्थापन भए पनि प्राधिकरणले लक्ष्य अनुरुप सडक स्तरोन्नतिको उपलब्धि हाँसिल गर्न नसकेकोमा नगरबासीहरुले गुनासो गरेका छन् । कतिपय नागरिकहरुले प्राधिकरणमार्फत यो वर्ष सडक स्तरोन्नतिको काम सम्पन्न हुनेमा आशंका समेत व्यक्त गरेका छन् । किनकि प्राधिकरणका अधिकांश योजना अधुरा रहेका छन् भने निर्माण सम्पन्न भएका सडकहरुमा पनि नालाको व्यवस्थापन हुन सकेको छैन ।

‘हामीले यो अवधिमा कम्तिमा ६० किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएका थियौं, तर विविध समस्याका कारण ३० किमि सडक मात्र कालोपत्रे गर्न सक्यौं’—तुलसीपुर पूर्वाधार प्राधिकरणका प्रमुख सिइओ पवन कुमार योगीले भने । सुरु सुरुमा योजना छनौटमै अलमल, त्यसपछि हालसम्म जारी रहेको विश्वव्याधि कोरोना भाइरसको संक्रमण र मौसमी प्रतिकुलताका कारण काममा केही ढिलाइ भएको पनि इन्जिनियर योगीले बताए ।

‘लक्ष्य अनुरुपको बाँकी ३० किमि सडक कालोपत्रेको पनि ठेक्का भैसकेको छ, सम्भवतः चैत मसान्तभित्रै यो काम सम्पन्न हुने छ’—इन्जनियर योगीले भने । बाँकी स्थानमा ठेकेदार मार्फत काम सुरु भैसकेको पनि उनले बताए । सडक कालोपत्रे मात्र नभएर विभिन्न एक सयभन्दा बढी स्थानमा सडकका नयाँ ट्रयाक खोल्ने काम पनि प्राधिकरणमार्फत् नै भएको उनको भनाइ थियो ।

तुलसीपुर उपमहानगरपालिकाले प्राधिकरण गठन भएसँगै पहिलो वर्ष २२ करोड बजेट प्राधिकरणलाई विनियोजन गरेको थियो । तर विविध ढिलासुस्तीका कारण १४ करोडभन्दा बढी खर्च हुन सकेन । दोस्रो वर्ष विनियोजन गरिएको दश करोड रुपैयाँमा ३ करोड रुपैया मात्र मुस्किलले खर्च भएको छ । बाँकी रकमले यो वर्ष काम हुँदैछ । तर यो वर्ष नयाँ योजना र नयाँ बजेट अझैसम्म पनि सार्वजनिक भएको छैन । प्रदेश सरकारले बजेट नपठाइसकेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले यो वर्षका लागि बजेट तथा योजनाहरु आफ्नो वेभसाइट र रातोकिताबमार्फत् सार्वजनिक गरिसकेको छैन ।

यो वर्ष नयाँ काम हुने सम्भावना न्युन

यसैबीच यो वर्ष प्राधिकरणमार्फत् नयाँ स्थानमा सडक कालोपत्रेको काम हुने सम्भावना न्युन रहेको छ । किनकि अघिल्लै वर्षको बजेटअनुसारका योजनाको काम सम्पन्न नभएका कारण यो वर्ष ती योजनामा काम हुँदै छन् । यद्यपि प्राधिकरणले भने थप काम पनि हुन सक्ने विश्वास व्यक्त गरेको छ ।

‘हामी प्रतिवडा तीन किमिबाट ५ किमिसम्म पुग्नेमा विश्वस्त छौं, सम्भवतः अर्को आर्थिक वर्षसम्म हरेक वडामा कम्तिमा ५ किमि सडक कालोपत्रे गर्ने काम हुने छन्’, इन्जिनियर योगीले भने, तर थप योजनाका शीर्षकमा नयाँ बजेट भने अझै आइसकेको छैन । उपमहानगरपालिका त्यसै पनि ऋणमा चलिरहेकाले थप योजनाहरु सञ्चालन हुनेमा वडाका जनप्रतिनिधिहरु पनि विश्वस्त छैनन् ।

प्राधिकरणले हालसम्म तुलसीपुर उपमहानगरपालिकाको १ नम्बर वडामा आधा काम मात्रै सम्पन्न गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २, ३ र ४ मा सबै काम सम्पन्न भैसकेको बताइएको छ । त्यसैगरी ५, ६, ७, ८ र ९ वडामा पनि चार/चार स्थानमा सडक स्तरोन्नतिको काम सम्पन्न भैसकेको छ । वडा नम्बर १७ मा एउटा योजनाको काम सम्पन्न हुन बाँकी रहेको तथा १८ वडामा २ वटा योजना सम्पन्न भएका छन् । अन्य बाँकी वडाहरुमा कालोपत्रेको ठेक्का भैसकेको र काम सम्पन्न हुने प्रक्रियामा छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया दिनुहोस