अमेरिकामाथि नेपालको जित

काठमाडौं । ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले हराएको छ । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि जित हात पारेको हो ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै ओमान टुरमा लयमा रहेका रोहितले अर्धशतक प्रहार गरे । रोहितले अविजित ६२ रन जोडे । उनले यसअघि पपुवा न्यु गिनीविरुद्धको सिरिजको दोस्रो खेलमा ८६ रन बनाएका थिए । विनोद भण्डारीले ३७ रन योगदान गरे ।

अमेरिकाले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे । ओडीआईमा नेपालले ओपनिङमा सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनायो । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

नेपालको पहिलो विकेटको रुपमा आसिफ शेख २३ रन बनाएर आउट भए । उनले ४२ बल खेल्दै २ चौका प्रहार गरे । आसिफलाई नास्थुस केन्जिगले निसर्ग पटेलबाट क्याचआउट गराए । त्यसपछि कुशल र कप्तान ज्ञानेन्द्रले नेपालको इनिङ्स अघि बढाए । तर स्कोर ९३ हुँदा ज्ञानेन्द्रले व्यक्तिगत १७ रन बनाएर आउट भए । १५ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रलाई निसर्ग पटेलले एलबीडब्लु धरापमा पारे ।

ओडीआईमा पहिलो अर्धशतक बनाएका कुशलले ९३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ८४ रन जोडे ।

४९औं ओभरको अन्तिम बलमा २ रन लिँदै नेपाललाई जित दिलाएका रोहितले ८७ बल खेल्दै २ चौका र ३ छक्का मद्ददतमा अविजित ६२ रन बनाए । करण केसी १ रनमा अविजित रहे ।

अमेरिकाका लागि निसर्ग पटेलले १० ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट लिए । नास्थुस केन्जिगले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । यस्तै कप्तान नेत्रभाल्करले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए ।

ओमानको मस्कटस्थित अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३० रन बनाएको थियो ।

अमेरिकालाई हराएपछि नेपालले लिग २ मा तेस्रो खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ । नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ । ओमान १६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस