काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ।
भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। उद्धार तथा राहतका कामहरू भइरहेका छन्। अहिलेसम्म ११ सय १३ जनाको शव फेला परिसकेको छ भने ४८ सय ५८ जना सम्पर्कविहीन छन्।
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली बाढीपछि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् भने दिनहुँ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर जानकारी गराउने गरेका छन्।
आज प्रतिनिधि सभामा सभामुखले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार


