नेपालले पहिलो पटक डे नाइट एकदिवसीय क्रिकेट खेल्दै

२५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शुक्रबार पहिलो पटक डे नाइट (दिन र रात) क्रिकेट खेल खेल्दैछ ।

नेपाल र पपुवा न्युगिनी (पीएनजी)बिच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।​​ डे नाइट (दिन र रात) अन्तर्गतको खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ।

पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो। नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ।

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो। सिरिजमा नेपाल १–० ले अघि रहेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो।

लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ (भदौ २८) गते प्रतिस्पर्धा गर्नेछ। नेपालले दोस्रो खेलमा ओमानसँग सेप्टेम्बर १४ (भदौ २९) गते प्रतिस्पर्धा गर्नेछ।

यस्तै तेस्रो खेलमा अमेरिकासँग सेप्टेम्बर १७ (असोज १) गते र अन्तिम खेलमा ओमानसँग सेप्टेम्बर १९ (असोज ३) गते खेल्नेछ।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस