२४ भदौ, काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलो मैत्रीपूर्ण खेलमा २–१ पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गोल गरे ।
घरेलु मैदान र दर्शकको अगाडि नेपालले २३ मिनेटभित्र नै दुई गोल गरेको थियो । टिमका मुख्य स्ट्राइकर सावित्रा भण्डारी चोटका कारण मैदान बाहिर रहेकोले सबिता रानाले अग्रपंतिमा पहिलो रोजाइमा खेलेकी थिइन् । सबितासंगै १६ वर्षीय प्रितीले पनि अग्रपंतिमै खेलेकी थिइन् ।
खेलको १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चौधरीको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । विमलाले उपलब्ध गराएको क्रसमा सबिताले पेनाल्टी एरिया भित्रबाट हेडर गोल गरिन् ।
२३ औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुको पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सरुले मैदानको मध्यभाग नजिकबाट उपलब्ध गराएको पासमा प्रितीले अफसाइड ट्रयाप बिट गर्दै गोल गरेकी हुन् ।
बंगलादेशका लागि तोहुरा खातुनले ८३ औं मिनेटमा सान्त्वना गोल गरिन् ।
नेपालका लागि सिर्जना सिंहले ८१ औं मिनेटमा र रश्मी कुमारी घिसिङ ८६ औं मिनेटमा मैदान प्रवेश गरेर खेलमा डेब्यु गरे । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।