सिद्धार्थलाई नेपाली फिल्ममा भित्राउँदै युवराज लामा

नेपाली फिल्म क्षेत्रको गर्विलो नाम हो, युवराज लामा । एक समय अभिनयसँगै फिल्म निर्माण र निर्देशनमा निकै सक्रिय रहेका उनलाई दर्शकले फिल्म ‘देउता’ को ‘निमा’ भनेर चिन्ने गर्दछन् । ‘मन मन्दिर, कन्यादान, देश परदेश, प्रतिज्ञा, धर्मपुत्र, देवदूत, गोरेटो’ लगायतका फिल्मको निर्माण तथा निर्देशन गरिसकेका उनी पछिल्लो समय राजनीति र होटल व्यवसायमा व्यस्त छन् ।

सन् २००३ मा रिलिज भएको ‘धर्मात्मा’ पछि फिल्म निर्माण र निर्देशनबाट टाढा भएका उनले बीचमा केही फिल्ममा अभिनय भने गरे । अब उनी करीब डेढ दर्शकपछि फिल्म निर्माण र निर्देशनमा कमब्याक गर्ने तयारीमा छन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको र आउँदो चैतपछि सुटिङ सुरु हुने उनले बताए । यसलाई उनले आफ्नो फिल्मी करिअरको दोस्रो इनिङ भनेका छन् ।

यो फिल्मबाट उनले आफ्नो ‘लिगेसी’ धान्न छोरालाई नायकको रुपमा डेब्यू गराउने भएका छन् । उनका कान्छा छोरा सिद्धार्थ लामाले फिल्ममा अभिनय गर्न लागेका हुन् । नेपाली दर्शकका लागि उनी नयाँ अनुहार भए पनि भारतको मलायलम इन्डस्ट्रीमा लोकप्रिय छन् । उनले मलायलम इन्डस्ट्रीका सुपरस्टार मोहनलालसँँग फिल्म ‘योद्धा’ मा एकसाथ स्क्रिन शेयर गरिसकेका छन् ।

मलायलमको अर्को फिल्म ‘इदावाप्पथ्य’ मा पनि उनले मुख्य भूमिकामा अभिनय गरेका थिए । सन् २०१६ मा रिलिज भएको यो फिल्ममा अभिनेत्री मनीषा कोइरालाको पनि अभिनय थियो । मलायलममा सिद्धार्थलाई ‘उनिकुटा’ नामले चिन्ने गरिन्छ । पिताले निर्माण तथा निर्देशन गरेका ‘देउता’ लगायतका केही नेपाली फिल्ममा पनि उनले बाल कलाकारको रुपमा अभिनय गरेका छन् ।

छोराको डेब्यूबारे युवराज लामाले फिल्मीखबरसँग भने( ‘सिद्धार्थले आफ्नो क्षमता र प्रतिभाले मलालयम इन्डस्ट्रीमा जुन पहिचान बनाएको छ, त्यो नेपाली दर्शकबीचमा पनि जानुपर्छ भन्ने मेरो सोच हो । किनकि, उसको क्षमता नेपाली दर्शकले पनि चिन्नु पर्छ । अनि, युवराज लामाको लिगेसी धान्ने पनि त कोही चाहियो नी १ यसैले पनि नेपाली फिल्ममा छोरालाई डेब्यू गराउन लागेको हुँ ।’

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस