लुम्बिनीमा आधारभूत तालिम पूरा गरेका २३३ प्रहरी जवान दीक्षित

रुपन्देही । लुम्बिनी प्रदेशमा आधारभूत तालिम पूरा गरेका २३३ प्रहरी जवान दीक्षित भएका छन् । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो ।

समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्रबहादुर खत्रीले प्रहरी जवान संगठनको आधार स्तम्भ भएकाले नागरिकको विश्वास जित्ने गरी इमानदार, अनुशासित र जिम्मेवार भएर सेवा गर्न निर्देशन दिए । उनले प्रहरी सेवा जागिर मात्र नभई राष्ट्र र नागरिकप्रतिको महत्वपूर्ण जिम्मेवारी भएको बताए ।

तालिमका क्रममा सिकेका ज्ञान, सीप, अनुशासन र व्यावसायिकतालाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्दै उनले प्रहरीको व्यवहार र कार्यशैलीले संगठनप्रति नागरिकको धारणा निर्धारण गर्ने उल्लेख गरे । निष्पक्षता, इमानदारी र मानवअधिकारको सम्मानलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

डीआईजी खत्रीले कुनै पनि दबाब, प्रभाव र प्रलोभनमा नपरी कानुनअनुसार जिम्मेवारी निर्वाह गर्न तथा नागरिकसँग सम्मानजनक व्यवहार गर्दै नागरिकमैत्री प्रहरी सेवामा समर्पित हुन निर्देशन दिए ।

तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले दीक्षित प्रहरी जवानलाई अनुशासन, इमानदारी, कर्तव्यनिष्ठा र सेवाभावलाई आत्मसात् गर्दै नागरिकको सुरक्षा तथा सेवामा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे ।

प्रकाशित मिति : २०८३ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस