बिजाैरी । तुलसीपुर उपमहानगरपालिका–१८ मा विपन्न नागरिकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञको तयारी पूरा भएको छ । वडाका विपन्न, असहाय तथा बेसहारा नागरिकको उपचारका लागि अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित वडा कार्यालयले महायज्ञ आयोजना गर्न लागेको हो । महायज्ञ वडा कार्यालयदेखि पश्चिमतर्फ रहेको बगैँचा मैदानमा सञ्चालन हुनेछ ।
महायज्ञका लागि मञ्च, दाता पहिचान तथा सचिवालय व्यवस्थापनलगायतका आवश्यक तयारी पूरा भइसकेको वडा अध्यक्ष माधव वलीले जानकारी दिए । उनका अनुसार भोलि दिउँसो साढे १२ बजे वडा कार्यालयको गेटबाट कलशयात्रा सुरु हुनेछ । विभिन्न टोलबाट सहभागी हुने कलशयात्रा विश्वम्बर धाम मन्दिरको परिक्रमा गरी हेमन्तपुर बैरागी चोक हुँदै महायज्ञस्थल पुग्नेछ ।
महायज्ञको उद्घाटन दिउँसो १ बजे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्नुहुने वडा अध्यक्ष वलीले बताए । महायज्ञबाट न्यूनतम एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । संकलित रकमबाट अक्षयकोष स्थापना गरी विपन्न तथा असहाय नागरिकको उपचारमा सहयोग गरिनेछ ।
वडा अध्यक्ष वलीका अनुसार अक्षयकोषमा रकम थप गर्दै लैजाने योजना छ । महायज्ञमा स्वर्णपदक विभूषित पण्डित अमृतशरण देवाचार्यले प्रमुख कथावाचकका रूपमा धार्मिक प्रवचन दिनुहुनेछ ।


