दैलेख । दैलेखमा श्रीमानले बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी महिलाको पनि मृत्यु भएको छ। यसअघि उनका एक छोरा र एक छोरीको मृत्यु भइसकेको थियो। घटनामा आमा र दुई सन्तान गरी तीन जनाले ज्यान गुमाएका छन् भने एक बालक गम्भीर घाइते भएका छन्।
बञ्चरो प्रहारबाट घाइते चार जनामध्ये ६ वर्षीय बालकको उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते ३५ वर्षीया मनिषा सलामी मगरलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइए पनि चिकित्सकले शनिबार दिउँसो मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार शनिबार बिहान ११ बजेतिर मनिषाका १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिस्मा सलामीलाई नगर अस्पताल दुल्लुले मृत घोषणा गरेको थियो।
बुवाको बञ्चरो प्रहारबाट घाइते भएका ६ वर्षीय छोरा मिलन सलामीको सुर्खेतमा उपचार भइरहेको छ। थप उपचारका लागि उनलाई बाँकेको नेपालगञ्ज पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
जिल्लाको चामुन्डा बिन्दासैनी नगरपालिका–३ पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले सामान्य घरायसी विवादका क्रममा शनिबार बिहान साढे ९ बजेतिर श्रीमती र तीन सन्तानमाथि बञ्चरो प्रहार गरेका थिए।
घटनापछि प्रहरीले अम्बरलाई नियन्त्रणमा लिएको थियो। उनको टाउकोमा समेत एक इन्चभन्दा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। उपचारका लागि अस्पताल लगिएका अम्बरसँग प्रहरीले सामान्य सोधपुछ गरेको छ।
सोधपुछका क्रममा उनले आफूले कुनै घटना नगरेको दाबी गर्दै आएको प्रहरीको भनाइ छ। उनीसँग थप सोधपुछ गर्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।


