दाङ । यतिबेला दाङका खेतबारी तोरीका पहेँला फूलले ढकमक्क भएका छन् । टाढैबाट आकर्षक देखिने तोरीका फूलले ग्रामीण क्षेत्रको सुन्दरता बढाउनुका साथै जिल्लामा तोरीखेतीको बढ्दो सम्भावना पनि झल्काएका छन् । पछिल्लो समय किसानले तोरीखेती विस्तार गर्दै लगेपछि जिल्लामा यसको उत्पादनसमेत बढ्दै गएको छ ।
तोरी उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा चिनिन्छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करिब १७ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुँदै आएको छ । लुम्बिनी प्रदेशमा उत्पादित तोरीमध्ये दाङको तोरी गुणस्तरीय मानिने कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए ।
उनका अनुसार दाङको तोरीले आफ्नै पहिचान र ब्रान्ड बनाएको छ । गुणस्तर र उपभोक्ताको रुचिका कारण यहाँ उत्पादित तोरी तथा तेलको माग ठूला सहरमा समेत बढ्दै गएको छ ।
“दाङको तोरी ब्रान्डका रूपमा परिचित छ । अन्य क्षेत्रको तुलनामा यहाँको तोरीको गुणस्तर राम्रो छ । यहाँ उत्पादित तोरी काठमाडौँ, पोखरा, नेपालगन्ज, बुटवललगायत सहरमा माग हुने गरेको छ । उपभोक्ताले पनि दाङको तोरीलाई अत्यधिक रुचाउने गरेका छन्”, उनले भने ।
बजारमा माग राम्रो हुनु र उत्पादित तोरी बिक्री गर्न सहज हुनुले किसानलाई यस खेतीतर्फ आकर्षित गरेको भण्डारीको भनाइ छ । उत्पादन भएको तोरी बिक्रीका लागि बजारको समस्या नहुँदा किसानले खेती विस्तार गर्दै लगेका छन् । जिल्लामा तोरी उत्पादनसमेत बढ्दै गएको तथ्याङ्कले देखाउँछ ।
तोरी जोनअन्तर्गतको क्षेत्रमा पनि पछिल्लो वर्ष खेतीको क्षेत्रफल र उत्पादन दुवै बढेको छ । भण्डारीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा तोरी जोनअन्तर्गत एक हजार २७८.०२ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । उक्त क्षेत्रफलबाट दुई हजार १९८.१९ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस अवधिमा तोरीको उत्पादकत्व प्रतिहेक्टर १.७२ मेट्रिक टन रहेको छ ।
तोरीखेतीको उत्पादन र उत्पादकत्व बढाउन तोरी जोनले किसानलाई प्राविधिक सेवा, उन्नत बीउ र खेती प्रविधिमा सहयोग गर्दै आएको छ । जिल्लाका अधिकांश पालिकामा तोरीखेती हुँदै आएको छ । उत्पादन वृद्धि, बजारको माग र उपभोक्ताको बढ्दो रुचिले दाङमा तोरीखेतीको सम्भावना थप फराकिलो बनाएको कृषि ज्ञान केन्द्रको भनाइ छ । गाेरखापत्रबाट


