अब मोबाइल एपबाटै लिन सकिनेछ रेडक्रसको सदस्यता

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको सदस्यता लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हटेको छ । सोसाइटीले सदस्यता वितरण प्रक्रियालाई सहज बनाउन मोबाइल एपमार्फत अनलाइन सदस्यता लिन सकिने व्यवस्था सुरु गरेको छ । यसका लागि मोबाइलको प्लेस्टोरबाट ‘एनआरसीएस’ एप डाउनलोड गरेर सदस्यता लिन सकिनेछ ।

सदस्यता प्राप्त गर्न लामो समयदेखि देखिएको असहजतालाई ध्यानमा राखेर अनलाइन प्रणाली सुरु गरिएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले जानकारी दिए । उनका अनुसार नयाँ व्यवस्थाले सदस्यता लिन चाहनेलाई सहज बनाउनुका साथै कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।

एपमार्फत सदस्यता लिन आवश्यक फाराम भरी तोकिएका सर्त पूरा गरेपछि डिजिटल परिचयपत्र र प्रमाणपत्रसमेत प्राप्त गर्न सकिने अध्यक्ष भण्डारीले बताए । उनका अनुसार यसअघि नै सदस्यता लिइसकेका व्यक्तिले पनि आफ्नो सदस्यता अनलाइन प्रणालीमार्फत अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल रेडक्रस सोसाइटीको सदस्यता वितरण प्रक्रियालाई पारदर्शी र सहज बनाउन तदर्थ समितिलाई कार्यसर्त दिएको थियो । सोहीअनुसार सोसाइटीले सदस्यता वितरणमा अनलाइन प्रणाली लागू गरेको हो ।

अनलाइनमार्फत नयाँ सदस्यता लिन वा पुरानो सदस्यता अद्यावधिक गर्ने क्रममा समस्या आएमा तथा थप जानकारी आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटीमा सम्पर्क गर्न सकिने सोसाइटीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस