घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेको अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) प्रभावकारी बन्दै गएको छ। विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने, आफूले चाहेको चिकित्सक छनोट गर्न सकिने तथा अत्याधुनिक उपकरणसहितको प्रयोगशाला सेवा उपलब्ध भएपछि ईएचएसप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको हो।
प्रतिष्ठानले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म नियमित ओपीडी सेवा सञ्चालन गर्दै आएको छ भने अपरान्ह ४ बजेदेखि बेलुका ६ बजेसम्म ईएचएस सेवा प्रदान गर्दै आएको छ। इएचएसको ओटि बेलुका ८ बजेसम्म चल्ने गर्दछ ।
ईएचएसअन्तर्गत सेवाग्राहीले आफूलाई आवश्यक विशेषज्ञ चिकित्सक आफैँ रोजेर अनलाइन टिकटमार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको छ। यसले चिकित्सक छनोटदेखि स्वास्थ्य परीक्षण र उपचारसम्मको प्रक्रियालाई सहज बनाएको छ।
त्यस्तै, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहितको प्रयोगशाला सेवा, छिटोछरितो परीक्षण तथा सहज सेवा प्रवाहको व्यवस्था छ। सीटी स्क्यान, एमआरआईलगायतका अत्याधुनिक उपकरणबाट परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श र उपचार सेवा उपलब्ध हुँदै आएको छ।
एक महिनामा ४४१ जनाले लिए ईएचएस सेवा
प्रतिष्ठानको तथ्याङ्कअनुसार २०८३ असोज १ गतेदेखि ३१ गतेसम्म ईएचएसअन्तर्गत विभिन्न विशेषज्ञ विभागबाट ४४१ जनाले सेवा लिएका छन्। विभाग गत विवरणअनुसार सबैभन्दा बढी स्त्री तथा प्रसूति रोग विभागबाट १९० जनाले सेवा लिएका छन् ।
त्यस्तै, हाडजोर्नी विभागबाट ३४, बालरोगबाट ३३, दन्तरोगबाट २९, आँखारोगबाट २४, मेडिसिनबाट २३, नाक, कान तथा घाँटीबाट २० र मुटुरोग विभागबाट १८ जनाले सेवा लिएका छन्। यसैगरी जनरल सर्जरीबाट १७, मनोरोगबाट १३, जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिनबाट १३, छालारोगबाट ११, न्युरो सर्जरीबाट ८ र युरोलोजी विभागबाट ८ जनाले सेवा लिएका छन्।
नियमित ओपीडी समयपछि पनि विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा लिन सकिने व्यवस्था,अनलाइनमार्फत चिकित्सक छनोट गर्न पाउने सुविधा र आधुनिक उपकरणसहितको परीक्षण सेवाले प्रतिष्ठानको ईएचएसलाई सेवाग्राहीका लागि थप सहज र प्रभावकारी बनाउँदै लगेको अस्पताल निर्देशक डा. सुरेश रसाइलीले जानकारी दिए । रासस


