‘भ्वाइस किड्स’ सिजन ५ : सुवासना खड्काले जितिन् उपाधि

काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति आयोजित ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाको प्रतियोगी उनले उपाधि जितेकी हुन् ।

जितपछि प्रतिक्रिया दिँदै सुवासनाले टिम वाङ्देनलाई जसरी पनि जिताउनुपर्छ भन्ने लागेको बताइन् । शोमा पहिलोपटक कोच बनेका वाङ्देनले जितपछि सपनाजस्तो महसुस भएको बताए ।

उनले भने, ‘नाम घोषणा गर्दा सपनाजस्तो फिल भएको छ । यो जित सुवासनाको हो । जसले भोट गर्नुभयो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’ फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार वितरण गरे ।

जितसँगै खड्काले १० लाख रुपैयाँ नगद प्राप्त गरेकी छन् । फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना र क्रिएसन रोकाले प्रतिस्पर्धा गरेका थिए ।
यसपछि ‘भ्वाइस अफ नेपाल’ सिजन ८ मा चाँडै दर्शकमाझ आउने जानकारी होस्ट सुशील नेपालले गराएका थिए ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस