विश्वकै शक्तिशाली पासपोर्ट कुन देशको, नेपालको वरीयता दुई स्थान सुधार हुँदै

काठमाडौं । सन् २०२६ को ग्लोबल पासपोर्ट इन्डेक्स सार्वजनिक भएको छ। रेसिडेन्सी एन्ड सिटिजनसिप एडभाइजरी फर्म ग्लोबल सिटिजन सोलुसन्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार स्वीडेन विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएको देश बनेको छ। शीर्ष १० मध्ये नौ स्थान युरोपेली देशले ओगटेका छन् भने नेपालको पासपोर्ट गत वर्षको तुलनामा दुई स्थान सुधार हुँदै १६४औँ स्थानमा पुगेको छ।

परम्परागत रूपमा बिनाभिसा (भिसा–फ्री) यात्रालाई मात्र आधार मानिने पासपोर्ट वरीयताभन्दा फरक, यस इन्डेक्समा १४ वटा सूचकका आधारमा पासपोर्टको समग्र शक्ति मूल्यांकन गरिएको छ। भ्रमण सहजतालाई ५० प्रतिशत, लगानीका अवसरलाई २५ प्रतिशत र जीवनस्तरलाई २५ प्रतिशत भार दिइएको छ। मूल्यांकनका लागि विश्व बैंक, विश्व आर्थिक मञ्च तथा दिगो विकास प्रतिवेदनलगायत अन्तर्राष्ट्रिय संस्थाका तथ्यांक प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।


प्रतिवेदनअनुसार नेपाली पासपोर्टधारीले हाल विश्वका १० देशमा बिनाभिसा वा आगमनमा भिसा ९भिसा अन अराइभल० सुविधा प्राप्त गर्न सक्छन्। भारत, प्यालेस्टाइन, डोमिनिका, माइक्रोनेसिया, हाइटी, फिलिपिन्स, पाकिस्तान र सिंगापुरलगायत मुलुकमा नेपाली नागरिकले सहज प्रवेश सुविधा पाउने उल्लेख गरिएको छ।

यद्यपि अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, चीन, जापान र एन्डोरासहित करिब १०७ गन्तव्यमा भने नेपाली नागरिकले यात्रा गर्नुअघि भिसा लिनुपर्ने व्यवस्था कायम छ।

दक्षिण एसियाली देशहरूको वरीयतामा भारत १२५औँ, चीन १०४औँ, माल्दिभ्स १०७औँ, श्रीलंका १४१औँ, नेपाल १६४औँ, पाकिस्तान १८८औँ र अफगानिस्तान १९७औँ स्थानमा रहेका छन्।

यस वर्षको शीर्ष १० शक्तिशाली पासपोर्ट भएका देशमा क्रमशः स्वीडेन, स्वीट्जरल्यान्ड, फिनल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क (संयुक्त पाँचौँ), आयरल्यान्ड, बेलायत, नर्वे र सिंगापुर रहेका छन्। अमेरिका र फ्रान्स भने ११औँ स्थानमा परेका छन् भने क्यानडा १३औँ स्थानमा रहेको छ।

सूचीको पुछारमा रहेका १० देशमा सुडान, कंगो (ब्राजाभिल), मध्य अफ्रिकी गणतन्त्र, कंगो (किन्सासा), इरिट्रिया, सिरिया, यमन, दक्षिण सुडान, सोमालिया र सबैभन्दा अन्तिम स्थानमा अफगानिस्तान रहेका छन्।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस