स्वतन्त्र सांसद महावीर पुनले देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
उनले नेपाल एकीकरणपछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको बताउँदै आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने प्रवृत्ति सिर्जना गर्न आग्रह गरे ।
सांसद पुनले म्याग्दी जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए पनि सोअनुसारका सेवा–सुविधा नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘म्याग्दी जिल्लालाई २०७५ सालमा हिमाली जिल्ला घोषणा गरिएको रहेछ । तर, हिमाली जिल्लाले पाउने सुविधाहरू केही पनि त्यहाँ पुगेको रहेनछ । हिमाली जिल्लाले पाउनुपर्ने सेवा सुविधाहरू उपलब्ध गराउन अनुरोध गर्दछु । साथै, म सरकार र सबै राजनीतिक दलहरूलाई के अनुरोध गर्न चाहन्छु भने, नेपालमा सदियौँदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता भाइरसबाट बच्नुहोस्,’ उनले भने, ‘यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाहको पालादेखि सुरु भएको हो । यो भाइरसले अझै पनि छोडेको छैन । आगामी दिनमा मन्त्रीले, सांसदले आफ्ना आफन्तलाई फलानो पदमा नियुक्त गर्यो भन्ने कुरा सुन्नु नपरोस् ।’


