शहरी विकास मन्त्रालयका सचिव सिग्देललाई भौतिक मन्त्रालयको पनि जिम्मेवारी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारी गोपालप्रसाद सिग्देलले सम्हालेका छन् । मन्त्रालयमा रिक्त रहेको सचिव पदमा सिग्देलले आज पदभार ग्रहण गरेका हुन् ।

मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी ज्ञानराज लम्सालका अनुसार सिग्देललाई भौतिक पूर्वाधारका साथै शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

मन्त्रिपरिषद्को गत १३ गतेको बैठकले उनलाई दुवै मन्त्रालयको जिम्मेवारी हेर्ने गरी निर्णय गरेको थियो ।

सूचना अधिकारी लम्सालले भने, ‘गोपाल सिग्देलले आजै मन्त्रालयमा आएर पदभार ग्रहण गरेका छन् । उनलाई भौतिक र शहरी दुवै मन्त्रालय हेर्ने गरी दोहोरो जिम्मेवारी दिइएको छ ।’

गत चैत ९ गतेदेखि भौतिक पूर्वाधार मन्त्रालयमा सचिव नहुँदा प्रशासनिक कामहरू प्रभावित हुँदै आएका थिए ।

मन्त्रिपरिषद्को निर्णयसँगै सिग्देलले आजदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । उनलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत समेत गरेका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस