खानेपानी समृद्धिसँग जोड्ने लक्ष्यसहित पहल थालिएको छ– नगर प्रमुख खड्का

नगर समितिका अध्यक्षमा वली


तुलसीपुर । दाङको तुलसीपुरमा खानेपानी तथा सरसफाइ संस्था÷समितिहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम विहिवार सम्पन्न भएको छ । राष्ट्रिय सानाशहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको तालिमका सहभागीहरुले स्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले खानेपानी संस्थाबीच एकता, प्रविधिको प्रयोग र नीतिगत स्पष्टतामार्फत मात्र दीगो व्यवस्थापन सम्भव हुने बताएका हुन् ।


राष्ट्रिय सानाशहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सल्लाहाकार खानेपानी विज्ञ चोक प्रसाद धितालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको थियो । तालिम उद्घाटनका अवसरमा कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले तुलसीपुर मात्र होइन, सिंगो दाङलाई खानेपानी समृद्धिसँग जोड्ने लक्ष्यसहित पहल थालिएको बताए ।

खानेपानी संस्थाबीच सहकार्य, साझेदारी र समन्वय कसरी प्रभावकारी बनाउने भन्ने विषयमा रणनीति तयार पार्न थालिएको उनको भनाइ थियो । उनले पालिकाभित्र देखिएका समस्या समाधानका लागि ऐन निर्माण गरी खानेपानी बोर्ड गठन गरिएको जानकारी दिए ।


विशिष्ठ अतिथि राष्ट्रिय सानाशहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले खानेपानी संस्थाको संस्थागत सुदृढीकरण, कानुनी स्पष्टता र नेतृत्व क्षमताको विकास आवश्यक रहेको बताए। आधुनिक प्रविधि, विशेषगरी जिआइएस प्रणालीको प्रयोगमार्फत सेवा पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। निजी क्षेत्रद्वारा सफ्टवेयरका नाममा उपभोक्तामाथि अनावश्यक आर्थिक भार परिरहेको विषयमा पनि सजग हुनुपर्ने उनले बताए ।


त्यसैगरि प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले संघीयतापछि खानेपानी तथा सरसफाइ क्षेत्र संघ र स्थानीय तहको एकल अधिकार सूचीमा परेकाले पालिकाले आवश्यक कानुन निर्माण गरेको बताए । खानेपानी ऐन जारी भएसँगै बोर्डले पूर्णता पाएको र अब उपभोक्ता समूहको समस्या अभिलेखीकरण तथा समाधानतर्फ काम अघि बढेको उनले उल्लेख गरे । उनले सबै संस्थालाई पालिकामा सूचीकृत हुन आग्रहसमेत गरे ।


तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष यमकान्त भण्डारीले पानी शुद्धीकरण, स्रोत संरक्षण र संस्थाको दिगोपनाका लागि नीतिगत स्पष्टता आवश्यक रहेको बताए । कमजोर संस्थालाई सबल बनाउन बजेट व्यवस्थापन गर्न पालिकासँग आग्रह गर्दै उनले पानीमा लाग्ने करसम्बन्धी नीति पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।


त्यसैगरि घोराही खानेपानीका कोषाध्यक्ष ध्रुव केसि, प्रगतिनगर खानेपानी देउखुरीका अध्यक्ष तिर्थराज ज्ञवाली लगायतकाले दिगो खानेपानी व्यवस्थापनका लागि तिनै तहका सरकारले खानेपानीका लागि गंभिर हुनु पर्ने वताएका थिए । साथै स्रोत संरक्षण, अव्यवस्थित पूर्वाधार व्यवस्थापन र संस्थागत एकतामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका थिए ।

जलवायु परिवर्तन, ढुंगा उत्खनन र अव्यवस्थित पूर्वाधारका कारण पानीका स्रोत सुक्दै गएको उल्लेख गर्दै तत्काल संरक्षण अभियान आवश्यक रहेको बताएका थिए । कमजोर संस्थालाई सबल बनाउन नीतिगत तथा बजेटीय सहयोग आवश्यक रहेको समेत धारणा व्यक्त गरेका थिए । जलवायु परिवर्तनका कारण पानीको सतह घट्दै गएको भन्दै भविष्यमा पानी संकट गम्भीर बन्न सक्ने चेतावनी समेत दिएका थिए ।


उक्त तालिममा खानेपानी विज्ञ बिज्ञ शिव अमात्य, तिलक न्यौपाने र चोक प्रसाद धितालले खानेपानीका नियम, कानुन, सवल खानेपानी संस्थाकाका लागि नेतृत्वदायि भूमिका र सफा र शुद्ध पानिका विषय लगाएतका विषयमा तालिम दिइएको थियो ।
कार्यक्रममा अमृतपुर खानेपानी संस्थाका अध्यक्ष दशरथ ओलीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण बेलझुण्डी खानेपानी संस्थाका अध्यक्ष प्रदीप गौतमले गरेका थिए ।


नगर समिति गठन
त्यस अवसरमा तुलसीपुर क्षेत्रका सबै खानेपानी संस्थाहरूलाई एउटै छातामुनि गोलबन्द गर्दै समस्या समाधानमा सामूहिक पैरवी गर्नका लागि ‘तुलसीपुर नगरस्तरिय तदर्थ समिति’ समेत गठन गरिएको छ ।


भेलाले दशरथ वलीको अध्यक्षतामा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ तुलसीपुर नगर स्तरीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा अमर खड्का, सचिवमा राकेश बस्नेत, कोषाध्यक्ष सुशीला न्यौपाने चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा तिलक केसी, शुष्मा अधिकारी, बिक्रम चौधरी, दोर्णबहादुर खत्री, चेतबहादुर जिसी, मेनका रेग्मी, कविराज वली, मुक्तबहादुर वली र लोकबहादुर वली चयन हुनुभएको छ । सल्लाहकारमा यमलाल पार्धे, नेवबहादुर डिसी र मिनुका पन्थी रहेका छन ।


समितिले नगरभित्रका खानेपानी आयोजनाहरूको हकहित र आपसी समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने महासंघका अध्यक्ष वलीले बताए ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस