जाडोमा बालबालिकालाई हुनसक्छ भिटामिन डी को कमी, के गर्ने ?

बच्चाको स्वस्थ विकासका लागि भिटामिन डी अत्यन्तै आवश्यक पोषक तत्व हो । भिटामिन डीले बच्चाको हड्डी र दाँत बलियो बनाउन, उचाइ वृद्धिमा सहयोग गर्न, रोगसँग लड्ने क्षमता बढाउन र मांसपेशीहरूको विकासमा मद्दत गर्छ ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार, भिटामिन डीको कमीले बच्चाहरूमा ‘रिकेट्स’ हड्डी नरम हुने जस्ता समस्या निम्त्याउन सक्छ, जसले हड्डीहरू कमजोर बनाउँछ । तर जाडो मौसममा घाम कम लाग्ने, बच्चालाई धेरै बेर बाहिर नलैजाने र बाक्लो लुगा लगाउने कारणले गर्दा बालबालिकामा भिटामिन डीको कमी देखिन्छ ।

जाडोको समयमा बच्चामा भिटामिन डीको कमी किन हुन्छ, कसरी चिन्ने र कसरी रोकथाम तथा उपचार गर्ने भन्ने विषयमा अभिभावकले जान्नु जरुरी हुन्छ ।

नवजात शिशुमा भिटामिन डीको कमी हुने काणहरू:

नवजात शिशुहरूमा भिटामिन डीको कमी प्रायः गर्भावस्थासँग जोडिएको हुन्छ । बच्चाले गर्भमा हुँदा आमाबाट नै भिटामिन डी पाउँछ । यदि गर्भावस्थामा आमाले घाममा पर्याप्त समय बिताएको छैन वा भिटामिन डीको कमी छ भने बच्चा पनि कमीका साथ जन्मिन सक्छ । मेयो क्लिनिकका अनुसार, गर्भवती महिलाहरूमा भिटामिन डीको कमीले बच्चामा रिकेट्सको जोखिम बढाउँछ ।

आमाको दूध सबैभन्दा राम्रो खाना भए पनि यसमा भिटामिन डीको मात्रा कम हुन्छ । यस्तोमान केवल स्तनपान गराइएका शिशुलाइ भिटामिन डी सप्लिमेन्ट आवश्यक पर्नसक्छ।

जाडो मौसममा चिसोको डरले शिशुलाई घाममा नबसाल्दा छालाले भिटामिन डी बनाउन पाउँदैन । शरीरले युबिभी किरणहरूबाट भिटामिन डी उत्पादन गर्छ, जुन जाडोमा कम हुन्छ ।

समयभन्दा अगाडि जन्मिएका शिशुको शरीरमा भिटामिन डीको भण्डारण कम हुन्छ, जसले कमीको जोखिम २–४ गुणा बढाउँछ ।

कालो छाला भएका बच्चाहरूमा घामबाट भिटामिन डी उत्पादन कम हुन्छ, र प्रदूषित क्षेत्रहरूमा पनि यो समस्या बढी देखिन्छ ।

किन जाडोमा भिटामिन डीको कमी धेरै हुन्छ ?

जाडोमा भिटामिन डीको कमी हुने मुख्य कारणहरू:

–जाडोमा घामको समय छोटो हुन्छ ।

–बिहान र साँझको घाम प्रभावकारी हुँदैन, किनकि ‘यूभीबी’ किरणहरू कमजोर हुन्छन् ।

–बाक्लो कपडाले बच्चाको शरीर ढाकिन्छ, जसले छालालाई घामबाट रोक्छ ।

– विशेष गरी चिसो मौसममा बच्चा बाहिर खेल्न कम जान्छ ।

–कुहिरो र प्रदूषणले घाम छेक्छ, जसले यूभीबी किरणहरू कम गर्छ ।

यी सबै कारणले गर्दा बच्चाको छालाले पर्याप्त भिटामिन डी बनाउन सक्दैन । भिटामिन डीको कमीले रोगप्रतिरोधि प्रणाली कमजोर बनाउँछ, जसले बारम्बार संक्रमण हुन्छ ।

भिटामिन डीको कमीका लक्षणहरू

भिटामिन डीको कमीका लक्षणहरू उमेरअनुसार फरक पर्छन् ।

नवजात र साना शिशुमा : जन्मेदेखि १२ महिनासम्म

–धेरै रुनु, चिडचिडाहटपन ।

–दूध कम खानु वा भोक नलाग्नु ।

–ढिलो पल्टिनु, बस्नु वा घस्रिनु ‘मोटर डेभलपमेन्ट ढिलो’।

–टाउकोको हड्डी नरम हुनु ।

–धेरै पसिना आउनु, विशेष गरी टाउकोमा सानो उमेरमा पनि ।

–भिटामिन डीको कमीले थकान र हड्डी कमजोर बनाउँछ ।

ठूला बालबालिकामा : १ वर्षभन्दा माथि

–खुट्टा दुख्ने वा थकाइ लाग्ने ।

–हिँड्दा चाँडै थाक्ने वा मांसपेशी कमजोर हुने ।

–खुट्टा बाङ्गिने ।

–बारम्बार बिरामी पर्ने, जस्तै श्वासप्रश्वास संक्रमण ।

–उचाइ र तौल अपेक्षाअनुसार नबढ्नु ।

भिटामिन डीको कमीको उपचार र रोकथाम

भिटामिन डीको कमी भएको समस्यामा त्यो पूर्ति गर्न घाम नै सबैभन्दा राम्रो प्राकृतिक स्रोत हो । त्यसैले हप्तामा कम्तीमा ३–४ दिन, १५–३० मिनेटसम्म हात, खुट्टा वा अनुहारमा घाम लाग्ने गरी बस्नुपर्छ ।

नवजात शिशुलाई डाक्टरको सल्लाह अनुसार भिटामिन डी ड्रप दिन सकिन्छ । आफैंले मात्रा बढाउनु हुँदैन, किनकि अधिक मात्राले समस्या निम्त्याउन सक्छ ।

भिटामिन डीयुक्त खाना ६ महिनापछि दिन सकिन्छ ।

–अण्डाको पहेंलो भाग

–दूध दही, घ्यू थोरै मात्रामा

–घाममा सुकाएको च्याउ

यी खानाहरूबाट भिटामिन डिको कमी रोक्न सकिन्छ । गर्भवती महिलाहरूका लागि पनि साल्मन, अण्डा उपयुक्त हुन्छ ।

अभिभावकहरूका लागि सुझाव:

–गर्भावस्थामै आमाले दैनिक भिटामिन डी लिनुपर्छ । त्यसका लागि घाम र पोषणमा ध्यान दिनुपर्छ ।

–शिशुलाई सुरक्षित रूपमा नियमित घाममा बसाल्नुपर्छ, तर घामले डढ्नबाट बचाउनुपर्छ ।

–आमाको दूध मात्रै खाइरहेका शिशुलाई भिटामिन डी ड्रप दिन सकिन्छ चिकित्सकको सल्लाहमा ।

–बच्चाको विकास नियमित रूपमा निगरानी गर्नुपर्छ जस्तै उचाइ, तौल र मोटर स्किलहरू ।

–कुनै शंका भए स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।

यी उपायहरू अपनाएर जाडोमा पनि बच्चाहरूको भिटामिन डी स्तर कायम राख्न सकिन्छ, जसले उनीहरूको समग्र स्वास्थ्यमा सुधार ल्याउँछ ।

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस