हाम्रो गाउँघरमा सजिलै पाइने निम आयुर्वेदमा निकै महत्त्वपूर्ण औषधीय वनस्पति हो । आयुर्वेदमा यसलाई ‘निम्ब’ भनिन्छ । यसको स्वाद असाध्यै तीतो हुन्छ र विशेषगरी छालाका समस्या, चिलाउने, कृमि अर्थात् पेटका जुकालगायत विभिन्न अवस्थामा परम्परादेखि प्रयोग हुँदै आएको छ ।
निमको पात (निमपत्ती) का १० उपयोगहरु
१. छालामा चिलाउने र दाना आउँदा
निमको पात छालामा चिलाउने, साना दाना आउनेजस्ता केही समस्यामा बाहिरबाट प्रयोग गर्ने चलन छ । आयुर्वेदमा निमलाई छालासम्बन्धी समस्यामा उपयोगी मानिएको छ ।
२. सामान्य घाउको हेरचाहमा
निमको पातलाई पिसेर लेपका रूपमा बाहिरबाट प्रयोग गर्ने आयुर्वेदिक परम्परा छ । गाउँघरमा पनि निमको पातलाई घाउ तथा छालाको हेरचाहमा प्रयोग गर्ने चलन पुरानै हो । तर गहिरो, पाकेको वा ठूलो घाउ छ भने निमको पातकै भरमा घरमै बस्न हुँदैन है ।
३. पेटमा जुका पर्दा
आयुर्वेदमा निमलाई ‘कृमिघ्न’, अर्थात् कृमि वा जुका कम गर्न सहयोग गर्ने गुण भएको वनस्पति मानिन्छ । निमका पातलगायत विभिन्न भागबाट बनाइएका औषधि पेट तथा आन्द्राका जुकाको उपचारमा प्रयोग गरिन्छ । तर निमको पात आफूखुसी धेरै खानु हुँदैन ।
४. शरीर चिलाउँदा
आयुर्वेदमा निमलाई ‘कण्डूघ्न’, अर्थात् चिलाउने वा खुजली कम गर्न सहयोग गर्ने वनस्पतिका रूपमा प्रयोग गरिन्छ । निमको पात उमालेर त्यो सहन सक्ने पानीले चिलाइरहेको छालालाई सफा गर्ने गरिन्छ ।
५. मुख र गिजाको हेरचाहमा
गाउँघरमा निमको दतिउन प्रयोग गर्ने चलन पुरानै हो । निममा आधारित दाँत–मुख सफा गर्ने सामग्रीले दाँतमा जम्ने फोहोर र गिजा सुन्निने समस्या कम गर्न सहयोग गर्न सक्ने कुरामा अनुसन्धान पनि भएका छन् ।
६. सुन्निने समस्यामा
निमलाई शोथ अर्थात् सुन्निने अवस्थाहरूमा प्रयोग गरिन्छ । आधुनिक अनुसन्धानले समेत निममा पाइने केही प्राकृतिक तत्त्वले शरीरमा हुने सुन्निने प्रक्रियालाई कम गर्न सहयोग गर्ने देखाएको छ ।
७. शरीरका कोष जोगाउन सहयोगी
निमको पातमा शरीरका कोषलाई क्षति पुर्याउने हानिकारक तत्वको असर कम गर्न सहयोग गर्ने प्राकृतिक रक्षक तत्त्व (एन्टिअक्सिडेन्ट) पाइन्छन् । यसमा फ्लाभोनोइड्स र पोलिफेनोल्सजस्ता तत्त्व हुन्छन् ।
८. रगतमा चिनी नियन्त्रणमा सहयोग
निमको पातले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न केही सहयोग पुर्याउँछ । तर मधुमेह भएका व्यक्तिले औषधि छाडेर निम खाएर बस्नचाहिँ हुँदैन। मधुमेहको औषधि खाइरहेको अवस्थामा निम सेवन गर्नुअघि डाक्टरको सुझाव लिनुपर्छ । किनभने तपाईंको स्वास्थ्य वा समस्याको स्तर हेरेर मात्र धेरै कुरा भन्न सकिने हुन्छ ।
९. टाउकोमा चाया र केही ढुसीजन्य समस्यामा
निमको पात उमालेर चिस्याएको पानी टाउको तथा प्रभावित छालामा बाहिरबाट प्रयोग गर्न सकिन्छ । चाया, चिलाउने तथा केही ढुसीजन्य छालाका समस्यामा यसरी प्रयोग गर्न सकिन्छ ।
१०. भोक नलाग्ने तथा पाचनसम्बन्धी समस्यामा
निम तीतो स्वादको हुन्छ । आयुर्वेदमा तीतो रसलाई पाचनसँग सम्बन्धित केही समस्यामा उपयोगी मानिन्छ । निमको पात उमालेर बनाइएको झोल अर्थात् क्वाथ भोक नलाग्ने अवस्थामासमेत प्रयोग गर्न सकिन्छ ।
तर निम छ भन्दैमा जति पनि खान हुँदैन । औषधि हुने वनस्पतिको मात्रा पनि औषधिजस्तै महत्त्वपूर्ण हुन्छ । धेरै निमपत्ती खाने वा निमको रस तथा क्वाथ लामो समयसम्म आफूखुसी सेवन गर्नु राम्रो हुँदैन ।
गर्भवती तथा स्तनपान गराइरहेका महिला, साना बालबालिका, मधुमेहको औषधि खाइरहेका वा अन्य दीर्घरोगको उपचार गराइरहेका व्यक्तिले डाक्टरको सुझावअनुसार मात्रै प्रयोग गर्नुहोला ।


