कोहलपुरमा आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम सञ्चालन

बाँके । कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा पुनःआमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम सञ्चालन गरिएको छ । करिब एक वर्षपछि अस्पतालमा सो कार्यक्रम पुनःसञ्चालनमा आएपछि कोहलपुर र आसपास क्षेत्रका विपन्न नागरिकलाई प्रसूति सेवा र नवजात शिशु उपचार सेवामा सहजता भएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिका र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरबीच आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापछि सो कार्यक्रम सञ्चालन गरिएको कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले जानकारी दिइन् ।

उनले आमा सुरक्षा कार्यक्रमसँगै नवजात शिशु सुरक्षा कार्यक्रमसमेत समेटिएपछि नगरपालिका र मेडिकल कलेजबीच सम्झौता भएर कार्यक्रम सञ्चालनमा आएको बताइन् । आमा सुरक्षा कार्यक्रममा नवजात शिशु सुरक्षा कार्यक्रमसमेत समेट्न कोहलपुर नगरपालिकाले मेडिकल कलेजलाई गत वर्षदेखि आग्रह गर्दै आएको थियो ।

उक्त विषयमा सहमति हुन नसक्दा गत वर्ष आमा सुरक्षा कार्यक्रम सो अस्पतालमा बन्द गरिएको थियो । कार्यक्रम बन्द हुँदा सो क्षेत्रका सयौँ महिला तथा नवजात शिशुको उपचारमा स्थानीयलाई समस्या भएको थियो । कार्यक्रम पुनःसञ्चालनमा आएपछि आर्थिक रूपमा कमजोर नागरिकलाई यसबाट ठूलो राहत पुग्ने कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख सुवेदीले विश्वास व्यक्त गरिन् । कार्यक्रम सञ्चालनमा आएपछि आर्थिक अभावकै कारण गर्भवती तथा सुत्केरीले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले नेपाल सरकारको मापदण्डअनुसार नेपालगन्ज मेडिकल कलेजसँग सम्झौता गरी आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनका अनुसार यसअघि सञ्चालनमा रहेको आमा सुरक्षा कार्यक्रममा नवजात शिशु सुरक्षा कार्यक्रमसमेत जोड्न नगरपालिकाले गरेको आग्रह मेडिकल कलेजबाट स्वीकार नभएपछि एक वर्षसम्म आमा सुरक्षा कार्यक्रम नै अवरुद्ध हुन पुगेको थियो ।

नेपालगन्ज मेडिकल कलेजका निर्देशक प्रा डा रेशमबहादुर रानाले कार्यक्रमका लागि कोहलपुर नगरपालिकासँग सम्झौता भए पनि यसबाट देशभरका गर्भवती तथा नवजात शिशुले सेवा पाउने बताए । उनले शिशुलाई सुविधा दिनसक्ने व्यवस्थापन कोहलपुर मेडिकल कलेजले गरेका कारण शिशु उपचार सेवा पनि थप गरिएको जानकारी दिए ।

कार्यक्रम सञ्चालन गर्ने सम्झौतामा कोहलपुर नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गिरी र नेपालगन्ज मेडिकल कलेजका तर्फबाट निर्देशक प्रा डा रानाले हस्ताक्षर गरेका छन् । रासस

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस