‘बोक्सीको घर’ पछि ‘पेट्रोल पम्प’ बनाउँदै केकी, नयाँ चलचित्रबारे के भन्छिन ?

काठमाडौं । गत वर्ष नेपाली सिनेमा उद्योगलाई ‘ब्लकबस्टर’ सिनेमा ‘बोक्सीको घर’ दिएकी अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र बनाउने भएकी छिन। उनले ‘बोक्सीको घर’ कै टिमसँग मिलेर नयाँ चलचित्र ‘पेट्रोल पम्प’ बनाउन लागेकी हुन्।

‘बोक्सीको घर’ ब्लकबष्टर भएपछि अभिनेत्री केकी अधिकारी र सोही चलचित्रका निर्देशक सुलक्षण भारतीबिच मनमुटाव भएको चर्चा चलेको थियो। तर अहिले उनै सुलक्षणसँग मिलेर केकीले ‘पेट्रोल पम्प’ बनाउन लागेकी हुन।

नयाँ चलचित्रको घोषणा गर्दै केकीले सामाजिक संजालमा लेखेकी छिन,‘कला अनि सिनेमाप्रतिको इमानदारी र कथाप्रतिको गहिरो सम्मानले हामीलाई फेरि एकसाथ बाँध्यो। ‘बोक्सीको घर’ लाई यहाँहरुले दिनुभएको अपार माया, विश्वास र साथले हामीले अझ जिम्मेवार महसुस गरेका छौँ । हामीले नयाँ कुरा सोच्ने, नयाँ प्रयास गर्ने हिम्मत जुटाएका छौँ ।’

‘त्यही प्रेरणा, आत्मा र मेहेतका साथ हामी हाम्रो नयाँ प्रस्तुति ‘पेट्रोल पम्प लिएर आउँदैछौँ । यसपटक पनि यहाँहरुको माया, समर्थन र विश्वासको अपेक्षासहित कला र सिनेमाप्रतिको प्रेमका लागि, नयाँ कथाका लागि, र फेरि एकपटक सँगै हिँड्ने यात्राका लागि हृदयदेखि धन्यवाद,’उनले जोडेकी छिन्।

यो चलचित्रको निर्देशन सुलक्षण भारतीले गर्नेछन् । चलचित्रको कथा पनि उनी स्वयंमको हो। चलचित्रको निर्माण भने केकी अधिकारीले गर्नेछिन। यसअघिको चलचित्र ‘बोक्सीको घर’ मा पनि सुलक्षण लेखक तथा निर्देशक र केकी निर्माता नै थिइन् । निर्देशन र निर्माणसँगै चलचित्रमा दुवैले अभिनय गरेका थिए ।

सोसल ड्रामामा आधारित चलचित्र ‘पेट्रोल पम्प’ वर्ष २०८३ मा रिलिज हुनेछ । चलचित्रमा को–को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले अहिले खुलाएको छैन ।

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस