तुलसीपुरका मेयर टिकाराम खड्काको भावुक सन्देश

आदरणीय नगरबासी बुबा आमा, संविधानमा संघीयता आएको थियो, नया संरचनाहरु थिएनन, सबै संरचनाहरु पुरानै थिए । स्थानीय सरकारकारुपमा हामीले गर्नुपर्ने काम र जनताका अपेक्षाहरु अति धेरै थिए । सिमित बजेटका विचमा हामीले तुलसीपुरको प्रशासनीक र वडा कार्यालयहरुलाई नागरीकहरुले सहजै सेवा प्राप्त गर्ने गरी निर्माण गर्यौ । स्थानीय सरकारसँग बजेटको अभाव हुने भएकाले विभिन्न संरचनाहरु भिन्न भिन्न निकायहरु गुहारेर मेरै कार्यकालमा तुलसीपुरको प्रशासकीय भवन र धेरै वडा कार्यालयहरु निर्माण र पुनर्निर्माण भए । भलै कोरोना महामारीका कारण उक्त भवनमा म आफु बसेर सबै सेवा सुरु भएन तर पनि बजारका विभिन्न ठाउँमा साना साना कोठा खोजेर शाखाहरु राख्नुपर्ने बाध्यताको अन्त्य भएर नागरीकहरुले एकै ठाउँबाट सेवा पाउने सहजता भएको थियो । वडा कार्यालयहरुले वडामै सबै खालको सेवा दिने गरी संरचनाहरु निर्माण भएका थिए । आज सबै खरानी भएको छ । यसबाट म दुखित र मर्माहत भएको छु हामी फेरी बजारमा छरिएर कोठा खोज्दै शाखाहरु स्थापना गर्ने ठाउँमा फर्किएका छौ ।

२. त्यति मात्रै होइन तुलसीपुरलाई आधुनिक सहरको रुपमा पहिचान दिनका लागि व्यापारीक कम्प्लेक्सहरु र स्थानीय उत्पादनको एकिकृत बजार तथा बिक्री केन्द्रको आवश्यकता थियो । निजी क्षेत्रबाट यसखालको कम्प्लेक्स निर्माणका लागि पहलकदमी हुन नसकेपछि नगर विकास कोषसँगको सहकार्यमा तुलसीपुरको पहिचानकारुपमा तुलसी टावर निर्माण सम्पन्न भएर सञ्चालनको प्रक्रियामा रहेको थियो । यो निर्माण गर्दा मैले अनेक खालका नकारात्मक टिकाटिप्पणीको सामना गर्नुपरेको थियो । तर एकदिन अवश्य पनि यसले तुलसीपुरको व्यवसाय र स्थानीय युवाहरुमा उद्धमशिलता विकासमा महत्वपूर्ण भुमिका खेल्ने मेरो विश्वास थियो । यसको निर्माण सम्पन्न भएसँगै विभिन्न व्यवसायीहरु यसतर्फ आकर्षित हुनुभएको थियो । ब्यवसायीहरुमा उर्जा र उत्साह पलाएको थियो । यो पनि तोडफोड भयो । ठूलो क्षति भयो । सञ्चालनको मुखैबाट हामी फेरी पछाडी फर्कने भयौ । तुलसीपुर अटो भिलेजलाई व्यवस्थापन गरेर आधुनिक र व्यवस्थित वसपार्क निर्माण गरेका थियौ । यसले तुलसीपुरको पहिचान दिएको थियो । केही थप काम गर्न बाँकी पनि थियो । तर यो पनि पूर्णता नपाउँदै नष्ट भएको छ । यी सबै तुलसीपुरका सपनाहरु थिए । यसले सबैको मन दुखेको छ । पहलकदमी लिएका कारणले मेरै झनै मन दुखेको छ ।

३. तुलसीपुरका अन्य सरकारी कार्यालय, न्यायालय, निजी व्यवसाय र भवन लगायतमा क्षति गरियो । यो क्षतिको असर हामीले लामो समयसम्म खेप्नुपर्ने निश्चित छ । जेन जीले गरेको आन्दोलनप्रति मेरो केही प्रश्न छैन । सुशासन, समावेशिता र अभिव्यक्ति स्वतन्त्रताप्रति मेरो साथ र समर्थन छ । तर के विध्वंशको हद नाँघेर गरिएको यो आन्दोलनले ल्याउने परिवर्तनबाट अहिले भएको क्षतिको पुर्ति हुन सक्दछ l संरचनाहरु त बन्लान तर हाम्रा इतिहास बोकेका दस्तावेजहरु कहाँ पाईएला ? आन्दोलनका क्रममा केही न केही त क्षति हुन्छ नै तर यसरी सार्वजनिक र निजी सम्पत्तिमाथि एकैपटक भएको यो क्षतिले हामीलाई दशौ वर्ष पछाडी धकेल्ने निश्चित छ ।

४. आँगो निभाउने तुलसीपुरको दमकल आफै बलेको छ । बालबालिकाहरुलाई लगाउने खोपहरु जलेर नष्ट भएको छ । निजी व्यवसायीहरुमा उत्साह हराएको छ । कर्मचारीहरुमा काम गर्ने जाँगर छैन । महत्वपूर्ण दस्तावेजहरु केही पनि बाँकी छैनन् । तुलसीपुरबासीको अनुहारमा नैराश्यता पोतिएको छ। देशकै मुख्य केन्द्रहरु जलेर ध्वस्त भएका छन् । हामीले गर्व गर्ने इतिहास र दस्तावेजहरु खरानी भएका छन् । यी निराशाहरुलाई हामीले कनिकुथी आशामा बदल्नु छ ।

प्रिय जेन जी पुस्ता, तपाईहरुको परिवर्तनप्रतिको अपेक्षालाई प्रशंसा गर्छु तर त्यो प्राप्तिको लागि तपाईहरुको आवेगमा या घुसपैठमा जे भयो त्यो कत्ति पनि राम्रो भएन । तपाईका आवाजहरुलाई दवाएर यो विध्व‌शंको आवाज घन्काउनेहरुको पहिचान गरौ । जति खरानी भएपनि उभिनु नै छ । अब उभिने प्रयास गरौ ।

आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धान्जली, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जेन जी पुस्ताका माग सम्बोधन गर्ने र सँगै रहेर राष्ट्रले भोगेको अकल्पनीय नोक्सानीको पुनर्णिर्माण गर्ने कार्यमा सहयात्रा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । इतिहासको यस कठिन घडिमा सबैले मातृभुमिको माटो र ध्वस्त धरोहरको खरानी मुठ्ठीमा लिएर वाचा गरौ, संकल्प गरौ । हामी फेरी उठ्छौ र हाम्रा धरोहरको पुनर्णिर्माण गर्छौ । निराशाहरुलाई आशाको घाम देखाउँछौ । नेपाल र नेपालीको पहिचान जोगाउछौ । यस महान यात्रामा सहकार्य र सहयोग गर्न सबैमा हार्दिक अपिल गर्दछु । धन्यवाद ।

टिकाराम खड्का
नगरप्रमुख
तुलसीपुर उपमहानगरपालिका

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस