संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित भएको छ । बिहान ८ बजेदेखि बसेको समितिको बैठकमा मस्यौदाको सम्पूर्ण बाचनपछि प्रतिवेदनसहित विधेयक पारित गरिएको हो ।
यसअघि १४ असारमा प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक दफावार छलफलका लागि राष्ट्रिय सभामा पठाइएको थियो । त्यसअनुसार राष्ट्रिय सभाले विधेयकलाई विस्तृत अध्ययन र छलफलका लागि विधायन समितिमा पठाएको थियो ।
समितिबाट पारित भएको विधेयक आजै निर्धारित राष्ट्रियसभा बैठकमा प्रस्तुत गरी पारित गर्ने तयारी भएको छ । राष्ट्रिय सभाबाट अनुमोदन भएपछि उक्त विधेयक प्रतिनिधि सभामा पुनः पठाइनेछ ।
प्रकाशित मिति : २०८२ भाद्र १७ गते मङ्गलवार


