५९ औँ रक्तसञ्चार सेवा दिवस विविध कार्यक्रम सहित मनाइदै

तुलसीपुर । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले ५९ औँ रक्तसञ्चार सेवा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै दिवस मनाइरहेको छ। “रक्तदान गरौँ, आशा दिऔँ, हामीसँगै जीवन बचाऔँ” भन्ने मूल नाराका साथ तुलसीपुर, घोराही र लमही गरी तीन स्थानमा कार्यक्रम भइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यलय प्रमुख बिश्राम अधिकारीले जानकारी दिएका छन् ।

शाखाका कार्यालय प्रमुख अधिकारीका अनुसार शुक्रबार तुलसीपुरस्थित राप्ती–बबई बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गरी दिवसको शुभारम्भ गरिएको हो। नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र दाङको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५ जना महिला र १५ जना पुरुष गरी २० जनाले रक्तदान गरेका थिए।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका बरुवागाँउस्थित ज्ञान दीप कलेजमा ५३ जना स्वयंसेवी रक्तदाताले रगत दिएका छन्, जसमा २६ जना महिला र २७ जना पुरुषले रक्तदान गरेका हुन । त्यसैगरी नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको आयोजना, तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको सहकार्य तथा विरन्द्र माध्यमिक विद्यालय (तुलसीपुर–१, भ्युडहर–सुनपुर) को व्यवस्थापनमा रक्तदाता उत्प्रेरणा कार्यक्रम पनि सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटीका अनुसार हाल ७३ जिल्लाका ११६ स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन भइरहेको छ। काठमाडौंस्थित केन्द्रीय रक्तसञ्चार सेवाका साथै विराटनगर, पोखरा, नेपालगञ्ज र चितवनमा ४ वटा क्षेत्रीय रक्तसञ्चार केन्द्र, २२ जिल्लास्तरीय इकाइ, ४७ आकस्मिक रक्तसञ्चार सेवा र ३८ अस्पताल स्तरीय रक्तसञ्चार एकाइमार्फत् सेवा दिइँदै आएको छ।

नेपालमा रक्तसञ्चार सेवा विसं २०२३ साउन १२ गते स्थापना गरिएको हो। त्यसयता हरेक वर्ष यस दिनलाई रक्तसञ्चार सेवा दिवसका रूपमा मनाइन्छ। दिवसको अवसरमा देशभर रगत संकलनदेखि वितरणसम्मका विभिन्न गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस