काठमाडौं– आजको तीव्र गतिमा बाँच्ने जीवनशैलीमा तनाव (स्ट्रेस) एउटा ‘नयाँ सामान्य’ जस्तै भइसकेको छ । तर यसको प्रभाव यति चुपचाप हुन्छ, जबसम्म हामी सचेत हुन्छौं, तबसम्म शरीर भित्रभित्रै क्षय हुन थालिसकेको हुन्छ ।
मानसिक थकानको असर केवल दिमागमा मात्र सीमित रहँदैन, यसले हाम्रो छाला, पाचन प्रणाली, निद्रा, मुटु र प्रतिरक्षा प्रणाली (इम्युनिटी) मा समेत नराम्रो असर पार्न सक्छ । त्यसैले शरीरले दिने यी स–साना संकेतहरूलाई समयमा नै बुझ्न अत्यन्त आवश्यक हुन्छ ।
रातभरि सुतेर पनि बिहान थकान महसुस हुने
यदि तपाईं रातभरको निद्रापछि पनि बिहान उठ्दा थकित महसुस गर्नुहुन्छ भने तपाईंको शरीर ‘हाइ अलर्ट मोड’ मा छ भन्ने सङ्केत हुन सक्छ । तनावले हाम्रो निद्राको गुणस्तरमा असर गर्छ, जसका कारण शरीरलाई आवश्यक विश्राम प्राप्त हुँदैन। यस्तो अवस्था प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ, उमेर बढ्ने प्रक्रिया तीव्र बनाउँछ र मुटुका रोग तथा मधुमेह (डायबिटीज) जस्ता समस्याको जोखिम बढाउँछ।
बिना कारण शरीर दुख्नु
घाँटीमा कडापन, ढाड दुख्ने, वा जोर्निहरु टाइट भएको महसुस हुनु । यी केवल उमेर बढ्दै गएको संकेत मात्र होइनन् । लामो समयसम्म तनावमा बस्दा मांसपेशीहरू निरन्तर तानिएका अवस्थामा रहन्छन्, जसले सूजन र पीडाको समस्या निम्त्याउँछ । यो सूजन दीर्घकालीन रूपमा गम्भीर रोगहरूको कारण बन्न सक्छ ।
शून्यता महशुस हुनु
तनावको एक ठूलो तर प्रायः नदेखिने लक्षण हो — भावनात्मक शुन्यता । जब तपाईं कुनै कुराले न दुःखी हुनुहुन्छ, न खुसी, न उत्तेजित– त्यो मानसिक थकानको लक्षण हुन सक्छ । यस्तो अवस्था डिप्रेशन र एक्लोपन निम्त्याउन सक्छ।
बारम्बार बिर्सनु
के तपाईं बारम्बार कुरा बिर्सनुहुन्छ ? कोठामा पुगेर बिर्सनुहुन्छ कि किन गएका थियौं ? यस्तो हुनु ‘स्ट्रेस ब्रेन’ को असर हुन सक्छ, जसले मस्तिष्कको संरचनामा नै असर गर्छ । दीर्घकालीन तनावले मानसिक रोग र स्मृतिमा कमी ल्याउने समस्या निम्त्याउन सक्छ ।
जंक फूडको तीव्र चाहना
तनावले शरीरभित्रका भोकसँग सम्बन्धित हर्मोनहरू गडबड बनाइदिन्छ । जसका कारण मिठाई वा तारेको मसालेदार खानेकुराप्रति चाहना बढ्छ। यसले मोटोपन, मधुमेह र मुटुको रोगको जोखिम धेरै बढाउँछ ।


