घण्टौं मोबाइल चलाउनुहुन्छ ? हुनसक्छ यस्तो स्वास्थ्य समस्या

फोन विना कति समय बस्न सकिन्छ ? सायद एक घण्टा पनि गाह्रो होला । अहिले प्रविधिले यति आवश्यक बनाइसक्यो कि स्मार्ट फोनले ‘अलराउण्डर साथी’ जस्तो काम गर्छ ।

कल, क्यामरा, म्यासेज, मोबाइल बैंकिङ, बिहान उठाउने र औषधि खान सम्झाउने अलार्म, नयाँ ठाउँमा हराउन नदिने म्याप, जानकारी खोज्ने गुगल, समाचार पढ्ने न्युज पोर्टल, मनोरञ्जनका विभिन्न माध्यम मोबाइलमै उपलब्ध छन् ।

यसरी हेर्दा मोबाइल खाना र पानीजत्तिकै जरुरी भइसक्यो भन्दा फरक नपर्ला । मोबाइलले दैनिकी सहज बनाएको छ भने योसँगै विभिन्न खालका स्वास्थ्य समस्या पनि निम्त्याएको छ ।

के कस्ता स्वास्थ्य समस्या देखिन्छ ?

गर्दन र काँधमा समस्या

हामी मोबाइल हेर्दा टाउको निहुराउँछौं । यही पोस्चरमा लामो समयसम्म बस्छौं । यस्तो बानीले गर्दन र काँधमा पोस्चर बिगारेर दुखाइ निम्त्याउँछ । गर्दन र काँध भारी हुने समस्या देखिन सक्छ ।

तल्लो ढाड दुखाइ

फोन लगातार घण्टौं चलाउँदा कुन पोजिसनमा बसेको याद नहुन सक्छ । यस्तोमा गलत तरिकाले बस्दा मेरुदण्डको हड्डीमा दबाब पर्छ । यसले तल्लो कम्मरमा दुखाइ बढाउँछ । कहिलेकाहीं समस्या यति बढ्छ कि उठ्न–बस्न समेत गाह्रो हुन्छ ।

हात र औंलामा दुखाइ

फोनमा लगातार टाइप र स्क्रिन स्वाइप गर्दा औंला र हातको मांसपेशी बढी चल्दा हात झमझमाउने र दुखाइ बढ्न सक्छ । त्यस्तै, फोन कानमा राखेर घण्टौं बोल्दा नाडीमा पनि दुखाइ अनुभव हुनसक्छ ।

आँखामा थकान

फोनको चमकदार स्क्रिनमा घण्टौं एकोहोरो हेर्दा आँखा पोल्ने, सुक्खा हुने, टाउको दुख्ने, धमिलो देख्ने र आँसु बग्ने समस्या हुनसक्छ ।

टाउको दुखाइ

लगातार निहुरिएर वा रातभर मोबाइल हेर्दा टाउको दुख्ने र भारीपन महसुस हुन्छ । यसले निद्रालाई समेत प्रभावित पार्न सक्छ, जसले शरीरलाई आलस्य बनाउँछ ।

दुखाइ हुने मुख्य दुई कारण

गलत तरिकाले बस्नु

शरीरका हड्डीहरू स्वस्थ राख्न सही पोस्चर आवश्यक हुन्छ । लामो समयसम्म गलत पोस्चरमा बस्दा दबाबका कारण हड्डीको बनावट बिग्रिन्छ र दुखाइ सुरु हुन्छ । यस्तोमा टाउको र ढाड झुकाएर वा गलत तरिकाले लामो समयसम्म फोनको प्रयोग गर्नेहरूमा ढाड, टाउको र गर्दनको दुखाइ बढ्छ ।

लामो समय एउटै हातमा फोन समातिराख्नु

फोन लगातार एउटै हातले एउटै पोजिसनमा समातेर प्रयोग गर्दा हातको मांसपेशी थकित हुन्छ । आँखाले पनि एकोहोरिएर स्क्रिन हेर्दा थकान बढ्छ । विना विश्राम मोबाइल प्रयोग गर्दा मांसपेशी र आँखामा असर पर्छ ।

के गर्ने ?

– लामो समयसम्म झुकेर नबस्ने

– एउटै पोजिसनमा मोबाइल समातेर नबस्ने

– मोबाइललाई सधैं आँखाको सिधा रेखामा राखेर हेर्ने

– बस्दा ढाडको पछाडिको भाग सिधा राख्ने

– अँध्यारोमा मोबाइलको चमक कम गरेर मात्रै प्रयोग गर्ने

– हरेक २० देखि ३० मिनेटमा फोनबाट टाढा हेर्दै विश्राम लिने र शरीर तन्काउने

– मोबाइलको स्क्रिन समय घटाउने

– खाना खाँदा वा परिवारसँग समय बिताउँदा फोन टाढा राख्ने

– सुत्नुअघि मोबाइल हेर्ने बानी कम गर्ने । किनकि यसले दिमागलाई आराम मिल्दैन र निद्रा बिगार्छ ।

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस