तुलसीपुरमा चाडपर्व लक्षित बजार अनुगमन

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले चाडपर्व लक्षित किराना पसल र मिठाइ पसल अनुगमन गरेको छ ।

विहिबार इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रतिनिधि सहित जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रतिनिधि र पत्रकारहरूद्वारा संयुक्त रूपमा बजार अनुगमन गरिएको छ ।

अनुगमन टोलीले किराना पसलहरुमा विभिन्न खाद्य सामग्री, दैनिक उपभोग्य सामान र अन्य वस्तुहरूको उत्पादन मिति, म्याद सकिने मिति, व्यवसाय दर्ता, मूल्य सूची टाँसे/नटाँसेको, सामानहरु व्यवस्थापन, र मूल्य जाँच गर्ने आदिको अनुगमन गरेका थिए । टोलीले मूल्य अनियमित गर्ने र म्याद सकिएको वस्तु विक्रि वितरण गर्ने व्यवसायीहरुप्रति कडा चेतावनी दिँदै अनुगमनलाई निरन्तरता दिने गरेको छ । 


तुलसीपुर वडा नम्बर ६ अन्तर्गत पर्ने गुम्राह चोक, मदन आश्रित चोक र बाहिनी चोकका किराना पसलहरु र मिठाइ पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनपछि व्यवसायीहरुलाई सचेत रहन, मूल्यसूची राख्न र सरसफाइमा ध्यान दिन सुझाव दिएको छ ।

हामी उपभोक्ताको हकको रक्षा गर्न प्रतिबद्ध छौं र तिहारमा किराना पसल र मिठाइ पसलबाट बढी सामान विक्रि वितरण गरिने भएकाले अनुगमन तीव्र बनाएका छौं” तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाकी प्रमुख रेखा शर्माले भन्नुभयो “किराना पसलबाट म्याद सकिएका अखाद्य वस्तुहरु भेटिने र मिठाइ पसलहरुमा सरसफाइ तथा खाद्य वस्तुहरुको जाँच गरेका छौं ।” 


अनुगमनको क्रममा, केही पसलहरूमा म्याद गुज्रिएका वस्तुहरु धेरै भेटिएको र खाद्य सामग्रीहरु व्यवस्थित गरी राखेको भेटिएको थिएन । त्यस्ता व्यवसायीहरुलाई अनुगमन टोलीले सुधार गर्न सुझाव दिएको छ । साथै, उक्त सुझावलाई ध्यान नदिने व्यापारीहरूलाई जरिवाना गरिने व्यवस्था रहेको शाखाकी प्रमुख शर्माले बताउनु भयो ।

 
बजार अनुगमनलाई व्यापारीहरूले सकारात्मक रूपमा लिएको बताएका छन् । उनीहरुले समय समयमा अनुगमन गर्दा आफूहरु पनि सचेत हुने बताएका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस