बेलझुण्डी । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान माताहतको केन्द्रीय आयुर्वेद विद्यापीठको प्रवेशद्वारमा एउटा वोर्ड अर्को पनि छ । प्रवेशद्वारको पूर्वतर्फ एउटा फलामको स्ट्याण्डमा झुण्डिएको टिनको वोर्डमा नेपाल संस्कृत विश्वविद्यालय, शिक्षण अस्पताल । तर केन्द्रीय आयुर्वेद विद्यापीठ परीसरमा शिक्षण अस्पताल छैन । नेपाल संस्कृत विश्वविद्यालयले यो वोर्ड राख्नु भनेको विद्यार्थीलाई थमथमाउन र अभिभावक तथा यहाँ आउने नागरिकहरुलाई झुक्याउन मात्रै हो ।
त्यसो त विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सुरु हुनु अघिसम्म सो आयुर्वेद क्याम्पसले आयुर्वेद चिकित्सामा विएएमएस अध्ययन गर्ने विद्यार्थीहरुको प्रयोगात्मक कक्षाका लागि तात्कालीन उपकुलपति कुल प्रसाद कोइरालाको पालामा सोहि शिक्षण भवनको तल्लो तलामा विभिन्न विशेषज्ञ चिकित्सक सहितको ओपिडि सेवा सञ्चालनको सुरुआत भएको थियो । राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई कन्भिन्स गर्न करीव ७५ वटा वेड समेत भर्ना कक्षमा राखिएको थियो । तर क्याम्पसमा सञ्चालन भएको ओपिडि सेवा विरामीको अभावमा सञ्चालन हुन सकेन । शिक्षण अस्पतालमा प्रयोगशाला र आफ्नै निशुल्क फार्मेसी नभएका कारण बिरामी आएनन् । जसोतसो फार्मेसी सञ्चालनका लागि ठेक्का आहवान गरिरहेकै बेला कोरोना भाइरसको संक्रमण सुरु भयो ।
संक्रमण व्यापक बन्दै गएपछि हरेक पालिकाहरुमा क्वारेन्टाइन निर्माण भए । त्यसैबेला तात्कालीन पाँच नम्बर प्रदेश सरकारले विएएमएस कलेजलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गर्यो । त्यसबेला मुख्यमन्त्री थिए, यहीँकै स्थानीय एमाले नेता शंकर पोख्रेल । करीव दुई वर्ष कोरोना अस्पताल सञ्चालन भैरहँदा जसोतसो व्यवस्थापन गरिएका बिरामी भर्ना वेडहरु पनि टुटफुट भए, भवनको पहिलो तला बिरामी राख्नका लागि भिन्नभिन्न पार्टेशन सहित तोडमरोड भयो ।
कोरोना भाइरसको संक्रमण मत्थर भएसँगै अस्पताल त बेलझुण्डीबाट तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सारियो, तर नेपाल संस्कृत विश्वविद्यालयले अझैसम्म पनि विएएमएस अध्ययन गर्ने विद्यार्थीका लागि शिक्षण अस्पताल बनाउन सकेको छैन । गेटमा शिक्षण अस्पतालको वोर्ड झुण्ड्याएर विद्यार्थीलाई झुठो आश्वासन बाँड्दै आएको छ । शिक्षण अस्पतालको आशै आशमा केन्द्रीय आयुर्वेद विद्यापीठबाट ७ व्याच पास आउट भैसके तर शिक्षण अस्पताल बनेन ।
‘हामीले शिक्षण अस्पतालबिनै करीव ५ वर्ष बितायौं, अब त शिक्षण अस्पताल र ओपिडि सेवाको आशा पनि हराउन थालेको छ’ केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीमा विएएमएस अध्ययन गर्दै गरेका विद्यार्थी तथा विएमएसका स्ववियु सचीव गणेश पौडेलले साक्षी खबरलाई बताए । उनी जस्तै करीव दुई सयभन्दा बढी विद्यार्थीहरु शिक्षण अस्पतालनै नदेखेर पासआउट भैसके भने कति हुने तरखरमा छ्न । उनीहरुले नजिकैको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा ओजेटी गरिरहेका छन् । जुन अस्पतालले मात्रै सबै विद्यार्थीलाई आवश्यकता अनुसारको विशेषज्ञ सेवाको ओपिडिमा प्राक्टिस गर्ने अवसर प्राप्त हुन सकेको छैन ।
कोरोनाको कहरमा रहँदा सो क्याम्पसका विद्यार्थीले आफ्नो शैक्षिक भवन पाउनै कम्तिमा दुई वर्ष आन्दोलन गर्नु परेको थियो । उनीहरुले विश्वविद्यालय प्रवेशद्वार नजिक घोराही–तुलसीपुर सडकमा चक्काजाम समेत गर्नुपर्यो । विद्यार्थीहरुले प्रहरीको लाठी समेत खाए । प्रदेश सरकारसँग नजिक रहेका केही पदाधिकारीको तात्कालीन स्वार्थका कारण विद्यार्थीहरुले कोरोना संक्रमण भरी क्याम्पस भवन पाएनन् । संघीय माताहतको नेपाल संस्कृत विश्वविद्यालयले भविष्यको कुनै चिन्तानै नगरी कोरोना अस्पताल चलाउन आयुर्वेद क्याम्पस भवननै प्रदेश सरकारले चलाएको कोरोना अस्पताललाई दिएको थियो ।
पढाइ र प्रयोगात्मक कक्षा नियमित नभए पनि सेमेस्टर परीक्षा र भाइभा त हुनेनै भयो । कुनै विद्यार्थीले नियमित पठन पाठनलगायत प्रयोगात्मक कक्षा र ओपिडि आइपिडि सेवा माग गरे भने उनीहरुलाई भाइभामै फेल गराइ दिनेसम्मका धम्की क्याम्पस प्रशासनबाट आउने गरेको विद्यार्थीहरुले सुनाउँछन् । दुई वर्ष अघि चलेर पनि एकाएक बन्द भएको विएएमएस शिक्षण अस्पतालको ओपिडि कक्षा अझै चल्न सकेको छैन । प्रयोगशाला सञ्चालनका लागि विश्वविद्यालय प्रशासनले जनशक्तिको निर्णय नगरिदिंदा ओपिडि सेवानै अन्योलमा परेको छ । प्रयोगात्मक अभ्यासका लागि कहाँ जाने ? विद्यार्थीहरु चिन्ता पालेर बसिरहेका हुन्छन् । प्रयोगात्मक अभ्यास बिनाको स्वअध्ययनले विद्यार्थीलाई कहाँ पुर्याउने हो ? कस्तो गुणस्तरीय बनाउने हो ? विद्यार्थी स्वयमलाई थाहा छैन । विएएमएस कक्षालाईनै लक्षित गरेर सरकारले बेलझुण्डीमा वोटानिकल गार्डेन निर्माणका लागि लाखौं रुपैया बजेट दिएको वर्षौ भयो, तर त्यो पैसा कहाँ छ ? विद्यार्थीलाई थाहा छैन ।
५१ जना शिक्षक प्राध्यापकको दरवन्दी स्वीकृत भएको केन्द्रीय आयुर्वेद विद्यपीठमा अहिले १२ जना स्थायी प्राध्यापक र ६ जना जति आंशिक प्राध्यापकले पठनपाठनको काम गरिरहेका छन् । ती प्राध्यापकलाई पनि नियमित आउनुपर्ने नियम कार्यान्वयन गर्न सकेको छैन, क्याम्पस प्रशासनले । न भौतिक उपस्थिति हुनुपर्ने, नत अनलाइन हाजिरिनै । मन लागे मात्र आउने अभ्यास बसाउँदै छन् प्राध्यापकहरु । थप दरबन्दीका लागि विश्वविद्यालय कार्यकारी परिषदले स्वीकृत प्रदान गर्नुपर्ने विनियम छ, तर अझै पनि व्यावस्थापन हुन सकेको छैन । सेवा आयोगलेनै वदनियतपूर्ण तवरले आफ्ना मान्छेलाई जागिर खुवाउन अभ्याससँगै विश्वविद्यालयका सेवा आयोग, उपकुलपति, रजिष्टार कार्यालय लगायतका विभागमा महिनौंसम्म तालावन्दी समेत भयो । तर विश्वविद्यालय पदाधिकारीहरु लोकसेवा आयोगलाई प्राध्यापक कर्मचारीको परीक्षा गराउने अख्तियारी दिलाउन चाहेको छैन ।
ठेक्का सम्झौता हुन सकेनः रजिष्टार
यसैबीच विएएमएस कलेजका लागि आवश्यक शिक्षण अस्पताल निर्माणका लागि नयाँ स्थानमा भवन निर्माणका लागि ठेक्का आह्वान भए पनि ठेक्का सम्झौता भने हुन नसकेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति माधव अधिकारीले पहिले भएको ठेक्का सम्झौता हुन नसकेको बताए । पहिले भएको ठेक्का खारेज भैसकेकाले अब प्रदेश सरकारको सहयोगमा काम अगाडि बढाउन विश्वविद्यालय लागिरहेको पनि रजिष्ष्टार अधिकारीले बताएका छन् ।
‘मुख्यमन्त्रीसँग कुरा भैरहेको छ, उहाँ शिक्षण अस्पताल निर्माणमा सकारात्मक हुनुहुन्छ’, रजिष्टार अधिकारीले भने, प्रदेश सरकारले श्रोत सुनिश्चितता गरेपछि पुनः ठेक्का प्रक्रियामा जान्छौं । तर यो विषयमा प्रदेश सरकारको कुनै निर्णय आएको छैन । न त प्रदेश सरकारको बजेट बक्तव्य तथा रातो किताबमै यस शीर्षकमा बजेट सुनिश्चित गरिएको छ । यो अवस्थाले अवका थप केहि वर्ष विएएमएसका विद्यार्थीहरुले आफ्नै शिक्षण अस्पताल पाउन सक्ने छैनन् ।
साभार : साक्षी खबर


