बंगलादेशको संसदीय निर्वाचनमा अवामी लिगकी अध्यक्ष शेख हसिनाको लगातार चौथो जितपछि अमेरिकाले बंगलादेशको चुनाव ‘स्वतन्त्र वा निष्पक्ष’ नभएको बताएको छ।
अमेरिकाले पनि चुनावका क्रममा भएको हिंसाको निन्दा गरेको छ।
अमेरिकाले यस निर्वाचनमा विपक्षीले भाग नलिएको र विपक्षी नेताहरूको गिरफ्तारीप्रति चिन्ता व्यक्त गरेको छ।
अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले सोमबार भनेका छन्, ‘यो निर्वाचन स्वतन्त्र वा निष्पक्ष भएको छैन। हामीलाई दुख छ कि निर्वाचनमा सबै दलहरूले भाग लिएनन्।’
म्याथ्यु मिलरले एक विज्ञप्तिमा भनेका छन्, ‘संयुक्त राज्य अमेरिका चुनावको क्रममा र पछिल्ला केही महिनाहरूमा भएको हिंसाको निन्दा गर्दछ। हामी बंगलादेश सरकारलाई हिंसाबारे अनुसन्धान गर्न र दोषीहरूलाई न्यायको कठघरामा ल्याउन प्रोत्साहन गर्दछौं।’
यद्यपि, अमेरिकाले स्वतन्त्र र खुला इन्डो(प्यासिफिकको लागि साझा दृष्टिकोणलाई अगाडि बढाउन बंगलादेशसँग काम गर्न जारी राख्न चाहेको पनि बताएको छ।
परराष्ट्र मन्त्रालयले बंगलादेशमा मानवअधिकार र नागरिक समाजलाई सहयोग गर्न र दुई देशबीचको जन–जनताबीचको सम्बन्धलाई थप सुदृढ गर्न काम गर्न तत्पर रहेको बताएको छ।
प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारूढ बंगलादेशी अवामी लिग ९एएल० पार्टीले देशको संसदीय निर्वाचनमा २९८ सिटमध्ये २२३ सिट जितेको छ।
बंगलादेशमा कुनै दलले संसदको कुल १ सय ५१ सिट जित्न सफल भएमा सरकार बनाउन सक्छ।
सत्तारूढ एएल पार्टीका २६० भन्दा बढी उम्मेदवार राष्ट्रिय निर्वाचनमा सहभागी भएका थिए। स्थानीय समयअनुसार आइतबार बिहान ८ बजे सुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको थियो।
आइतबार देशभरका ४२ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान भएको थियो।


