दंगीशरण । दंगीशरण गाउँपालिकाले विहीबार एक कार्यक्रमको आयोजना गरी दंगीशरण गाउँपालिकाभित्र बसोबास गरेका र दंगीशरणका स्वास्थ्य संस्थाहरुमा सुत्केरी भएका महिलाहरुका लागि सुत्केरी प्रोत्साहन पोषण भत्ता बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय तहको दोस्रो निर्बाचन पश्चात आएका नवनिर्बाचित जनप्रतिनिधिले पहिलो नीतिगत निर्णय गरेको र त्यसको कार्यान्वयनको पहिलो चरण स्वरुप सुत्केरी पोषण भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले बाल शिशु मृत्युुदर र मातृ मृत्युुदर कम गर्न आफुहरुले पहिलो नीतिगत निर्णय गरेको बताए । अध्यक्ष गिरीले महिलाहरु नियमित रुपमा पालिकाभित्र रहेका बर्थिङ सेन्टरहरुमा गर्भास्था चेक गराउँदै राज्यको तोकिएको सुबिधा उपभोग गर्न आग्रह समेत गरे ।
यस्तै दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले कार्यक्रमको उद्देश्य बारे जानकारी गराउदै नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमबाट २८ सय र दंगीशरणको सुत्केरी पोषण प्रोत्साहन भत्ताबाट ३२ सय गरी ६ हजार भत्ता बितरण गरिएको बताए ।

यस्तै दंगीशरण वडा ३ का वडाअध्यक्ष तथा आर्थिक समितिका संयोजक शुकलाल चौधरीले बोलेका थिए।
वडा ६ का वडाअध्यक्ष रोशन जङ्ग शाहको सभापतित्व तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यमा भएको सुत्केरी महिलाहरुका लागि सुत्केरी पोषण भत्ता बितरण कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाकी राधा शर्माले गरेकी थिइन् ।


