कपिलवस्तु । राजापानी सामुदायिक वन उपभोेक्ता समूह कपिलबस्तु र नेपाल पंन्छी संरक्षण संघ लाजिम्पाट काठमाडौंको आयोजनामा शुक्रबार वाणगंगा –३, कपिलवस्तुमा स्थानीय पशुपालक कृषकहरुबिच भेटेरीनरी औषधीहरुको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ ।
राजापानी सामुदायिक वन उपभोेक्ता समूह कपिलबस्तुका कोषाध्यक्ष कृष्ण पौडेलको अध्यक्षता तथा वाणगंगा–३, कपिलवस्तुका वडाअध्यक्ष टेक बहादुर झेडी मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पंछी संरक्षण संघका कार्यक्रम विकास ब्यवस्थापक खडानन्द पौडेलले कन्जरभेसन लिडरसिप प्रोगाम, गिद्ध तथा वातावरण संरक्षणका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मगरले गिद्ध संरक्षण, चरा तथा जैविक विविधता संरक्षण, गिद्धको आहारा तथा ब्यवस्थापन, गिद्ध संरक्षण बारेमा चेतना अभिबृद्धि गर्दै आयाआर्जनलाई पनि जोड्न सके जनस्तरबाट संरक्षणको कामहरु अगाडी बढ्नसक्ने बताए ।
त्यस्तै नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले गिद्धको महत्व, गिद्ध संरक्षणका चूनौती, सफलता, नेपालमा गिद्ध संरक्षणका बारेमा भएका कार्यहरु र आगामी दिनमा गिद्ध संरक्षणका लागि गर्नुपर्ने कदमहरुका बारेमा जानकारी दिएका थिए ।
उक्त तालिममा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुका पशु विकास अधिकृत श्री गणेश पुनले पशु चौपायाहरु विमारी हुँदा प्रयोग गरिने दर्द विनाशक औषधिहरु, गिद्धका लागि सुरक्षित मानिएको औषधि मेलोक्सीक्याम र टोल्फेनामिक एसिड र फ्लुनिक्सीन, कारप्रोफेन, निमुसुलाइड, एसिक्लोफनेक, किटोप्रोफेनलगायतका औषधिहरुको विषयमा समेत छलफल गरिएको थियो ।
तालिममा पटना सवडिभिजन वन कार्यालयका रेन्जर रविन्द्र नाथ खनाल, स्थानीय बुद्धिजिवी कृष्ण देव पोख्रेल, धनराज झेडी मगर, मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादवलगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन राजापानी सामुदायिक वन उपभोक्ता समूहका सचिव झगबहादुर चौधरीले गरेका थिए ।


