नेपालगञ्जमा बम विस्फोट हुँदा दुई जना घाइते

बाँके । बाँकेको नेपालगञ्जमा बम विस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा हिजो बेलुका बम विस्फोट हुँदा दुई जना घाइते भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार बम विस्फोटबाट क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् । बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

कोठाभित्र भेटिएको दुईवटा बममध्ये एउटा विस्फोट भएको र अर्को नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

यसअघि हिजो दिउँसो भोजपुरमा बम विस्फोट भएको थियो । यसको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको थियो । विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस