काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीको आम्दानी धरासायी बन्दै गएको पछिल्लो रिपोर्टसँगै मेटाले हजारौँ कर्मचारीलाई हटाउने भएको हो । यो सँगै मेटा कम्पनीका १३ प्रतिशत कर्मचारी कटौतीमा पर्नेछन् ।
फेसबुक कम्पनीमा अनावश्यक संख्या कर्मचारीसँग भद्दा र अप्रभावकारी बनेसँगै मेटाले कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । खर्च घटाउनका लागि हजारौँ कर्मचारी कटौती गर्ने निर्णय गरेको फेसबुकले आफ्नो अर्बौ डलर लगानीको मेटाभर्स परियोजनालाई भने उच्च प्राथमिकतामा राखेको छ ।
मेटाभर्सलाई कम्पनीले उच्च प्राथमिकतायुक्त वृद्धि क्षेत्रको रुपमा लिएको छ । मेटाले आफ्नो मेटाभर्स परियोजनामा यो वर्षमात्रै १० अर्ब डलरभन्दा धेरै लगानी गरेको छ । हाल मेटा कम्पनीमा कार्यरत कर्मचारीको संख्या ८७ हजार ३१४ रहेको छ ।
बुधबार एक वक्तव्य सार्वजनिक गर्दै मेटा कम्पनीका सिईओ मार्क जुकरबर्गले कोभिड महामारीमा अनलाइन क्रियाकलापमा वृद्धि जारी रहने र महामारी अन्त्यपश्चात् पनि त्यो अझै वृद्धि हुने अनुमानका आधारमा मेटाले महामारीको सुरुवातमा अत्यधिक लगानी गरको बताएका छन् ।
फेसबुकले गर्न लागेको कर्मचारी कटौती यो वर्षको प्रविधि क्षेत्रको सबैभन्दा ठूलो जनशक्ति कटौतीको हो । साथै मेटा अर्थात् फेसबुकको १८ वर्षे इतिहासमा कर्मचारी कटौती भएको यो पहिलो पटक हो । एजेन्सी


