रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा११ जनाको ज्यान गयो, १५ जना घाइते

काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन । उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ ।

‘युक्रेनविरुद्धको सैन्य अभियानमा स्वेच्छिक रुपमा भाग लिने इच्छा व्यक्त गर्ने व्यक्तिहरुलाई हतियार चलाउने तालिम दिने क्रममा आतंककारीहरुले साना हतियारले गोली चलाए,’ रुसको रक्षा मन्त्रालयले भनेको छ ।

आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ । उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन । एजेन्सी

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस