हामी आफ्नो शरीर तन्दुरुस्त राख्नका लागि व्यायाम गर्ने, पौष्टिक आहार सेवन गर्ने, प्रशस्त मात्रामा पानी पिउने आदि गर्छौं । तर हाम्रो स्वास्थ्यको महत्त्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ भने ध्यान पुर्याउन सकेका हुँदैनौं । आँखा संवेदनशील र सजिलै संक्रमण हुने अंग हो । यसलाई धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति पुर्याउन सक्छ । यसलाई जोगाएर स्वस्थ राख्न हामीले अनेकौं उपाय अपनाउन सक्छौं । यहाँ आँखा जोगाएर स्वस्थ राख्ने मुख्य केही उपायहरु दिइएको छ।
१. सन्तुलित पोषण
आँखा स्वच्छ र निरोगी राख्न चाहिने पोषण तत्त्वमा भिटामिन ‘ए’ महत्त्वपूर्ण मानिन्छ । जुन तत्त्व हरियो सागपात पहेलो फलफूलबाट पाउन सकिने हुनाले यसको सेवन आँखाका लागि लाभदायक हुन्छ । भिटामिन ‘ए’ रेटिनाका लागि अति आवश्यक तत्त्व हो दूध र दूधबाट बनेका पदार्थ र अण्डामा पनि भिटामिन ए र डी पाइन्छ । आँखाको समस्याबाट बच्न प्रशस्त पानी पिउनुपर्छ ।
२. निद्रा
स्वस्थ र राम्रो आँखाका लागि दिनमा कम्तिमा ८ घन्टा राम्रोसँग निदाउनुपर्छ । पर्याप्त मात्रामा निद्रा पुगेन भने आँखा दुख्ने रातो हुने टाउको दुख्ने खालका समस्याहरु देखा पर्न सक्छन जसले गर्दा असहज अवस्था आउँछ ।
३. व्यायाम
नियमित व्यायाम गर्नाले शरीर फुर्तिलो हुन्छ । आँखा स्वस्थ हुनका लागि शरीर पनि स्वस्थ हुन जरुरी हुन्छ । शारीरीक व्यायामका साथै आँखाका पनि व्यायामहरु हुन्छन । नियमित रुपमा व्यायाम गर्ने बानी गर्नाले शरीरमा स्फुर्ती प्रदान हुने र आँखा पनि स्वस्थ हुन्छ ।
४. नियमित रुपमा हातमुख धुने
हाम्रो हातमा आँखाले नदेखिने खालका विभिन्न किसीमका रोगका किटाणुहरु टासिएर रहेका हुन्छन् । हामीले बारम्बार हाम्रो हातले अनुहार तथा आँखा छुने गर्दछौं जसले गर्दा हातमा रहेका किटाणुहरु अनुहार र आँखा सम्म पुग्ने गर्दछन् । ति किटाणुहरुले आँखामा संक्रमण गराइ आँखा खराब हुन सक्छ । त्यसैले नियमित रुपमा आँखा र हात मुख धुने गर्नु पर्दछ ।
५. नियमितरुपमा आँखा जाँच गर्ने
कतिपय व्यक्ति यस्ता पनि भेटिन्छन्, जसले कहिल्यै पनि आँखाको जाँच गराएका हुँदैनन् । जब समस्या आइपर्छ अनि मात्र उनीहरु आँखा अस्पताल पुग्ने गरेको पाइन्छ । भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि आँखामा केही नभए पनि वर्षम्म कम्तीमा एक पटक आँखाको जाँच गराउनुपर्छ ।
६. चश्माको उचित प्रयोग गर्ने
आँखामा विभिन्न प्रकारका दृष्टि दोषहरु हुन्छन् । दृष्टि दोषहरुको उपचार वा व्यवस्थापन जे भने पनि त्यसको उपाय भनेको चश्माको प्रयोग हो । चश्मा प्रयोग गर्दा सम्बन्धित विषेशज्ञको सिफारिसमा मात्र प्रयोग गर्नुपर्छ ।
७. सुरक्षाका उपायहरु अपनाउने
कलकारखानामा, मेसिनरी उपकरण चलाउने ठाउँमा, घर बनाउनेजस्ता निर्माणसम्बन्धी कार्य हुने ठाउँमा काम गर्दा साना-साना कणहरु उडेर आँखामा छिर्ने सम्भावना धेरै हुन्छ । त्यस्ता ठाउँमा काम गर्ने व्यक्तिले आँखाको विशेष ध्यान दिनु आवश्यक पर्छ । सामान्य कार्य जस्तै: कीला ठोक्दा भित्ताको प्लास्टर उडेर आँखामा पर्न सक्छ र सोही कीला उछिट्टएिर पनि आँखामा पर्न सक्छ । त्यसैले सामान्य कुराबाट आँखालाई बचाउन पनि सधैँ सजग रहनुपर्छ ।
८. धूमपान नगर्ने
धूमपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बारम्बार सुने पनि यसका अम्मलीहरुले धूमपान गर्न छोडेको पाइँदैन । धूमपानले फोक्सोको क्यान्सर हुन सक्ने कुरा प्रायः सबैलाई थाहा भएकै कुरा हो तर डाक्टरहरुका अनुसार धूमपानले फोक्सोको क्यान्सर हुनुभन्दा अगाडि नै आँखाको दृष्टिलाई असर गरेको हुन्छ । त्यसैले आँखाका लागि धूमपान त्याग्नुपर्छ र धूम्रपान र मध्यपान जस्ता कुलत बाट टाढै रहनु पर्छ ।
९. २०–२०–२०को नियमको पालना गर्ने
टेलिभिजन, ल्यापटप, मोबाइलजस्ता उपकरणहरु हेर्दा वा लामो समयसम्म काम गर्दा यसको विद्युतीय प्रभाव र एकनासको हेराइले आँखामा दबाब पर्छ ।जसले गर्दा आँखाको हेराइ कमजोर हुने, आफैं आँसु झर्ने, आँखा पोल्ने जस्ता समस्या देखापर्छ । यसबाट बच्न छिन्-छिनमा कम्प्युटरको स्क्रिनबाट बाहिर हेरेर आँखालाई आराम दिनुपर्छ । समग्रमा भन्नुपर्दा भिजन २०–२०–२०को नियमको पालना गर्नुपर्दछ । सो नियम अनुसार टेलिभिजन, ल्यापटप, मोबाइलजस्ता उपकरणहरु लगातार २० मिनेट हेरिसकेपछि २०सेकेण्डसम्म २० फिट टाढाको दुरी हेर्ने गर्नुपर्दछ र सो कुरालाई पनि भुल्नु हुँदैन ।
१०. स्वस्थकर बानी व्यवहार अपनाउने
हरियो तरकारी, माछा आदिबाट आँखालाई चाहिने तत्त्व प्राप्त गर्न सकिन्छ । साथै नियमित व्यायामले शारीरिक प्रणालीहरुको सञ्चालन सुचारु गराई आँखामा पर्ने चाप कम गर्न सकिन्छ । हरियो सागसब्जी तथा व्यायामले मधुमेहका रोगीहरुको आँखा र स्वास्थ्यमा पनि लाभ पुग्छ । समय-समयमा गरिने नियमित जाँचले शरीरमा लागेको रोग छिटो पत्ता लगाउन सकिन्छ । आँखामा केही असर भएको महसुस भएमा तुरुन्त डाक्टरबाट परामर्श लिई उपचारतर्फ लागि हाल्नुपर्छ ।


