काठमाडौं । नजिकिँदै गरेको तिहारका बेला नेपालमा अधिकांश समय मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ । मौसमविदहरुका अनुसार आगामी एक सातासम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छैन । एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि जनजीवन प्रभावित नहुने पूर्वानुमान छ ।
यस वर्ष यमपञ्चकको पहिलो दिन अर्थात् काग तिहार यही कात्तिक २२ गते परेको छ भने भाइटीका २५ गते छ । मौसम विज्ञान विभागले आज कात्तिक १९ गतेदेखि २३ गते गाईपूजाको दिनसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै मौसममा उल्लेख्य फेरबदल नहुने जानकारी दिएको छ ।
मौसम बुलेटिनमा एक–दुई ठाउँमा मात्र हल्का पानी पर्ने र तराई मधेश तथा उपत्यका अनि खोँचहरुमा बिहानपख हल्का हुस्सुकुहिरो मात्र लाग्ने उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलले पनि आगामी एक साताको मौसमबारे जानकारी दिँदै तिहार अवधिभर व्यापक वा लगातार वर्षाको सम्भावना नरहेको बताएका छन् ।
मौसम अनुकूल रहने देखिएकाले तिहार धुमधामसँग मनाउने र धान काट्ने तयारीमा रहेका किसानका लागि आगामी दिन सहज हुने डा। पोखरेलको भनाइ छ । घमाइलो मौसमसँगै वायु प्रदूषण बढ्ने जोखिमतर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् ।
जाडोयाममा कम पानी पर्ने, बेस्सरी हावा नचल्ने तथा उद्योग कलकारखाना, सवारी साधन, कृषि कर्म र पूर्वाधार निर्माणको गतिविधिले वायु प्रदूषण बढाउने गर्दछ ।


