संविधान दिवस : सुशासन र समृद्धिको कामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा शुभकामना दिदै उनले त्यस्तो कामना गरेका हुन्।

संविधानले बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको बताउँदै उनले यस्तो अवस्थामा नेपालीबिच रहेको आपसी सद्‍भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, “नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नु पर्दछ ।”

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिले सिङ्गो मुलुक गहिरो पीडामा रहेको उल्लेख गर्दै उहाँले यस कठिन घडीमा बाढी प्रभावित व्यक्तिहरूको राहत, उद्धार र पुनर्स्थापना लागि एकताबद्ध भई अगाडि बढ्न सबैलाई आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस