काठमाडौं । माथिल्लो त्रिशूली–१ मा थप ७ वटा शव फेला परेको छ । नेपाली सेनाले उपलब्ध गराएको विवरण अनुसार, आज थप ७ वटा शव फेला पारी टनेल बाहिर निकालिएको हो । यसअघि आजै ६ वटा शव फेला परेका थिए । योसँगै आजै यो टनेलबाट १३ वटा शव फेला परेको हो ।
नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए । थप खोजी कार्यका क्रममा थप ७ वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ ।
गत भदौ १० मा भोटेकोशीमा आएको बाढीका कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ बाट ५५७ जना सम्पर्कविहीन भएका थिए । १ हजार ४ सय ३३ जना श्रमिक तथा कर्मचारी कार्यरत रहेको उक्त आयोजनाबाट बाँकीको उद्धार गरिएको थियो ।
अझै झण्डै ५ सय जना सम्पर्कविहीन छन् । उक्त आयोजनाबाट हराइरहेकाहरूको खोजीका लागि सर्च डग (खोजी कुकुर) समेत परिचालन गरिएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत मिनि एक्साभेटर आयोजना स्थलमा पुर्याइएको थियो ।
आयोजनास्थलमा नेपाली सेनाका ३२ जना, नेपाल प्रहरीका ४ जना र आयोजनाको प्रबन्धक कम्पनीका ५ जना गरी ४१ जनाको टोलीले अडिट–३ सुरुङको क्याम्पमा नै बसेर खोजी तथा उद्धार कार्य जारी राखेको छ ।


