बाढी प्रभावितका लागि ८ ट्रक राहत सामग्री पठाइयो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको सहयोगका लागि काठमाडौँको सिनामंगलस्थित गोदामघरबाट थप आठ ट्रक राहत सामग्री पठाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी पीडितहरूलाई तत्काल आवश्यक पर्ने सामग्रीहरू बोकेका ट्रकहरू आज रसुवातर्फ प्रस्थान गरेका हुन् ।

राहत सामग्री पठाउने क्रममा गृहमन्त्री सुदन गुरुङ र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको उपस्थिति रहेको थियो । विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रका नागरिकहरूलाई राहत र पुनर्स्थापनाका लागि सरकारले प्राथमिकताका साथ सामग्री ढुवानी कार्यलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ ।

यसअघि पनि विभिन्न माध्यमबाट राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने कार्य भइरहेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस