शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक, कुन श्रेणीका शिक्षकको तलब कति ?

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको तलबमा वृद्धि गरिएको छ।

नयाँ तलबमानअनुसार प्राथमिक तहमा कार्यरत र दुई विषयभन्दा बढीमा एसएलसी अनुत्तीर्ण भएका शिक्षकहरूको मासिक तलब ३४ हजार ४ सय २६ रुपैयाँ पुगेको छ। त्यस्तै, दुई विषयसम्म एसएलसी अनुत्तीर्ण भएका शिक्षकहरूले मासिक ३६ हजार ४ सय ४५ रुपैयाँ तलब पाउनेछन् । प्राथमिक तहकै एसएलसी उत्तीर्ण शिक्षकहरूतर्फ भने तृतीय श्रेणीको ४३ हजार ४ सय २८, द्वितीय श्रेणीको ४८ हजार ३ सय ८७ र प्रथम श्रेणीको ६० हजार ८ सय ७४ रुपैयाँ तलब कायम गरिएको छ।

निम्न माध्यमिक (निमावि) तहका शिक्षकहरूको तलब विवरणअनुसार तृतीय श्रेणीका शिक्षकले मासिक ४८ हजार ३ सय ८७ रुपैयाँ बुझ्नेछन्। यसैगरी, निमावि द्वितीय श्रेणीको ६० हजार ८ सय ७४ रुपैयाँ र प्रथम श्रेणीको ६३ हजार ९ सय ४ रुपैयाँ तलब तोकिएको छ।

माध्यमिक तहका शिक्षकहरूको तलब सबैभन्दा बढी रहेको छ। नयाँ दररेटअनुसार माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको मासिक तलब ६० हजार ८ सय ७४ रुपैयाँ कायम भएको छ। त्यस्तै, माध्यमिक द्वितीय श्रेणीका शिक्षकले ६७ हजार ९ सय ७ रुपैयाँ र माध्यमिक प्रथम श्रेणीका वरिष्ठ शिक्षकले मासिक ७४ हजार ९ सय ५८ रुपैयाँ तलब पाउनेछन्।

सरकारले यो नयाँ तलबमान २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी निर्धारण गरेको हो। यसका साथै, शिक्षकहरूले पनि अन्य निजामती कर्मचारी सरह ग्रेड रकम र वृद्धिपश्चात् कायम हुने तलबको थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत प्राप्त गर्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस