काठमाडौँ । गर्भावस्थामा महिलाहरूले धेरै प्रकारका चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। यस अवधिमा पेटमा धेरै एसिड बन्ने अर्थात् हाइपरएसिडिटीको समस्या पनि निकै सामान्य हो।
अधिकांश महिलाहरू गर्भावस्थामा यो समस्याको सिकार हुन्छन्। पेट वा घाँटी पोल्नु, अमिलो डकार आउनु, मुखमा लामो समयसम्म अमिलो स्वाद रहिरहनु, वाकवाकी लाग्नु वा बान्ता होला जस्तो हुनु गर्भावस्थामा आम कुरा हो।
धेरै पटक यस्तो लाग्छ मानौँ छातीको जलन माथितिर घाँटीसम्मै आइरहेको छ। कतिपय अवस्थामा महिलाहरू यसबाट निकै हैरान हुन्छन् र छुटकारा पाउने उपायहरू खोज्छन्।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, गर्भावस्थामा शरीरमा धेरै हर्मोनल परिवर्तनहरू हुन्छन्, जसले गर्दा पाचन प्रक्रिया सुस्त हुन्छ र पेटको एसिड माथितिर आउन थाल्छ। जसैजसै गर्भ बढ्दै जान्छ, पेटमा दबाब पनि बढ्छ, जसका कारण यो समस्या झन् बढी महसुस हुन सक्छ।
यदि कुनै महिलालाई पहिलेदेखि नै एसिडिटीको समस्या थियो भने, गर्भावस्थामा यो झन् बढ्न सक्छ। समस्या धेरै बढेमा यस विषयमा डाक्टरसँग सल्लाह लिनुपर्छ। कहिलेकाहीँ यसबाट बच्न औषधि नै खानुपर्ने अवस्था पनि आउन सक्छ। यद्यपि, केही सावधानी अपनाउने र घरेलु उपायहरू लागू गर्ने हो भने गर्भावस्थामा हुने एसिडिटीको समस्याबाट छुटकारा पाउन सकिन्छ।
गर्भावस्थामा एसिडिटीबाट बच्न आफ्नो दिनचर्या र खानपानमा ध्यान दिनु जरुरी छ। समयमै खाना खाने र लामो समयसम्म भोको नबस्ने प्रयास गर्नुहोस्, किनकि खाली पेट बस्दा एसिडिटी झन् बढ्छ।
हल्का र सजिलै पच्ने खाना जस्तैस् दलिया, खिचडी, उसिनेका तरकारी आदि खानु बेस हुन्छ। शीतलता प्रदान गर्ने कुराहरू जस्तैस् नरिवल पानी, मोही र सादा खानाले निकै राहत दिन्छन्।
दिनभर पर्याप्त मात्रामा पानी पिउनु पनि उत्तिकै आवश्यक छ। यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ र एसिडिटी कम गर्छ। यसका साथै, राम्रो निद्रा लिनु पनि धेरै महत्त्वपूर्ण छ, किनकि निद्रा पूरा नहुँदा पनि शरीरको पाचन प्रक्रिया प्रभावित हुन्छ।
एसिडिटीबाट छुटकारा पाउन केही गलत बानीहरू सुधार्नु जरुरी छ। खाना खानेबित्तिकै पल्टिने वा सुत्ने बानी त्याग्नुहोस्, किनकि यसो गर्दा एसिड माथितिर आउन थाल्छ।
खाना खाएपछि एकछिन हिँडडुल गर्नु फाइदाजनक हुन्छ। सुत्दा देब्रे कोल्टे फर्केर सुत्नु राम्रो मानिन्छ, किनकि यसले पाचनमा मद्दत गर्छ र एसिडिटी कम गराउँछ।
अत्यधिक चिल्लो, मसलादार, अमिलो, नुनिलो र प्याकेटका वा प्रिजर्ब्ड खानेकुराबाट टाढै रहनुहोस्, किनभने यस्ता कुराले एसिडिटी बढाउन सक्छन्।
केही सजिला घरेलु उपायहरूले पनि यो समस्याबाट राहत दिन सक्छन्। ल्वाङ, अमला र थोरै चिनी मिसाएर रातभरि पानीमा भिजाउनुहोस् र बिहान छानेर अलिअलि गर्दै पिउनुहोस्, यसले पेट पोल्ने समस्यामा आराम दिन्छ। यसैगरी ज्वानो वा सौँफको धुलोलाई चिनीसँग पानीमा मिसाएर पिउँदा पनि फाइदा हुन्छ।
यद्यपि, यदि लक्षणहरू धेरै बढेमा वा केही गम्भीर सङ्केतहरू देखिएमा जस्तैस् पेटको माथिल्लो भागमा अत्यधिक दुख्नु, भोक लाग्दा झन् बढी दुख्नु, रगतको बान्ता हुनु वा कालो रङको दिसा हुनु– यस्तो अवस्थालाई सामान्य रूपमा नलिनुहोस्।
यस्तो अवस्थामा तुरुन्त डाक्टरलाई सम्पर्क गर्नु जरुरी छ, किनकि यो कुनै गम्भीर समस्याको सङ्केत हुन सक्छ।


