दुधरास । तुलसीपुर उपमहानगरपालिका—१७, १८ र १९ का उपभोक्ताहरुलाई पिउने पानी उपलव्ध गराउदै आएको तुलसीपुर—१८ दुधरास स्थीत जुरपनीया मैनातारा खानेपानी तथा सरसफाई समितिको दशौं साधारणसभा तथा सातौं अधिवेशन सनिवार सम्पन्न भएको छ ।
साधारणसभामा सहभागी खानेपानी अभियन्ताहरुले बढ्दो प्राकृतिक विनाससंगै जलवायु परीवर्तनको असरका कारण खानेपानीका मुहानहरु सुक्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
जुरपनिया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रामकुमार डांगीको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा बोल्दै प्रमुख अतिथि तथा लुम्विनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पानीका मुहानहरु जोगाउनु अहिलेको सवैभन्दा ठुलो चुनौति रहेको बताए । विकाशसंगै विनास पनि हुने भएकाले त्यसको सन्तुलन कायम गर्न सवैको साथ र सहयोग अपरीहार्य रहेको पनि उनले बताए ।

साधारणसभामा शुभकामना व्यक्त गर्दै विशिष्ठ अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले पछिल्लो समयमा डिपवोरीङहरु असफल भएको भन्दै अव उत्तरी क्षेत्रका उपभोक्ता संस्थाहरु डिपवोरीङको सम्भावना खोज्दै दक्षिण तर्फ सर्नुपर्ने बताए । सो संस्थाको पुर्व अध्यक्ष समेत रहेका मेयर खड्काले स्वर्गिय दिगविजय मल्लको पहलमा विसं २०५० मा सन्चालनमा आएको यो संस्थाको भौतिक संरचना निर्माणमा आफ्नो कार्यकालमा धेरै काम भएको र अव मुहानको खोजीमा आफु लागीरहेको बताए । ग्रामिण तथा शहरी खानेपानी महासंघका केन्द्रिय अध्यक्ष खेमराज वलीले सरकारले पिउने पानीलाइ मौलिक हकका रुपमा राखेपनि कार्यान्वयन भने चुनौतिपुर्ण रहेको बताए ।
वेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष प्रदिप गौतमले सरकारले उत्तरी क्षेत्रमा चुनढुंगा उत्खनन्को अनुमति दिदां जिल्ला क्रमश सुख्खा मरुभुमिकरण तर्फ उन्मुख भएको बताए । ‘कौडिका भाउमा चुनढुंगा वेचिदै छ, यसले हामीलाइ ठुलो पानी संकट ल्याएको छ’, अध्यक्ष गौतमले भने । पानीको रिचार्ज हुने चुनढुंगाको उत्खनन्मा सरकार गम्भीर हुनुपर्ने पनि उनको अभिव्यक्ति थियो ।

जुरपनिया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उपाध्यक्ष शेषमणि कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समितिका सचिव दामोदर बस्नेत (राकेश)ले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष एम केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष यकमान्त भण्डारी, छर्छरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव शंकर नेपाली, रास्वपाका प्रतिनिधि शिवराज केसी, नेपाली कांग्रेसका प्रतिनिधि विरेन्द्र खड्का, एमालेका दामोदर न्यौपाने, नेपाली कम्युनिष्टका डिल्ली दंदेल, संस्थाका पुर्व अध्यक्ष शेरवहादुर खड्का तथा संस्थाका सल्लाहकार हिमवहादुर डाँगीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभा तथा अधिवेशनमा आर्थिक अवस्था कमजोर भएर पनि संस्थामा नियमित रुपमा महशुल बुझाउने उपभोक्ताद्धय जानकुमारी घर्ति र मोहन कमिलाई सम्मान गरिएको थियो । साधारणसभाको सहजीकरण सचिव दामोदर बस्नेत (राकेश)ले गरेका थिए ।



