निर्वाचनले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको छ – अन्तरिम सरकार प्रमुख कार्की

काठमाडौं । अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले आज बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान समारोहमा कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपर्ने र शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्ने बताइन् ।

“यसपटकको निर्वाचनले अन्तरराष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको छ, यसबाट नेपालप्रतिको सम्मान बढेको छ, यो निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गरेको छ, यसबाट लोकतन्त्रको संवद्र्धन पनि भएको छ”, अन्तरिम सरकार प्रमुख कार्कीले भनिन् ।

गत भदौ अन्तिम साता आफू सरकार प्रमुखमा नियुक्त हुँदा कानुनी र राजनीतिक शून्यता, सुरक्षा संवेदशीलता भएको स्मरण गर्दै उनले त्यो अवस्थाबाट निर्वाचन सम्पन्न गराई लोकतान्त्रिक मूल्य मान्यतालाई लिकमा अघि बढाइएको बताइन् । सुरुका दिनमा निर्वाचन चुनौतीपूर्ण रहे पनि आयोगको अठोट र सरकारको सहयोगले सम्भव भएको कार्यक्रममा कार्कीले जानकारी गराइन् ।

निर्वाचन घोषणा भएपछि जारी गरिएको अध्यादेशअनुसार करिब १० लाख युवा मतदाताले उत्साहपूर्ण रुपमा मतदाता नामावलीमा नाम लेखाइ निर्वाचनमा सहभागी भएर जनप्रतिनिधि चुनेको कार्कीले बताइन् ।

प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस