रास्वपालक्षित कांग्रेस प्रवक्ता चालिसेको टिप्पणी– दिउँसै रात पार्न खोजिँदैछ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले रवि लामिछाने नेतृत्वको रास्वपाले दिउँसै रात पार्न खोजेको टिप्पणी गरेका छन्।

छर्लङ्गै देखिएका ठगी र भ्रष्टाचारका अभियोगहरूको ठुलो पोको बोकेर पनि सुशासन, सदाचार र स्वच्छ राजनीतिको भाषण दिँदै हिँडेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘राजनीतिमा क्यामोफ्लाज भनेको आफ्नो वास्तविक स्वार्थ, उद्देश्य, चरित्र र गतिविधिलाई पूर्ण रूपमा लुकाएर जनतासामु फरक, राम्रो र आकर्षक अनुहार देखाउने चतुर रणनीति हो। यो ठ्याक्कै सैनिक क्षेत्रमा प्रयोग हुने छलावरण जस्तै हो जङ्गलमा हरियो पोसाक लगाएर शत्रुको दृष्टिबाट पूरै लुक्ने। त्यसैगरी राजनीतिमा पनि आफ्नो असली मुहार लुकाएर अर्कै रङ पोत्ने गरिन्छ।’

नेपालको पछिल्लो राजनीतिक दृश्यमा नयाँ भनिएका केही पार्टी र तिनका नेताहरू कलामा अत्यन्त निपुण र पोख्त देखिएको बताए।

उनले थपेका छन्, ‘छर्लङ्गै देखिएका ठगी र भ्रष्टाचारका अभियोगहरूको ठुलो पोको बोकेर पनि उनीहरू सुशासन, सदाचार र स्वच्छ राजनीतिको भाषण दिन थाल्छन्। यो त दिउँसै रात पार्न खोज्नु जस्तै हो। भनिन्छ झूट बोल्न सजिलो छ, तर झूट पत्याएकाहरूलाई सत्य बुझाउन निकै गाह्रो छ। यो क्यामोफ्लाजको खेलले जनताको विश्वासमाथि मात्र होइन, देशको भविष्यलाई नै अन्यौलता तर्फ लगिरहेको छ।’

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस