‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्ति, माफी माग्न आग्रह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले हालै धनगढीमा आयोजित चुनावी सभामा ‘रुखमा बाँध्ने, बाटोमा सुताउने र खोरमा हाल्ने’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । बालेनले निर्माण व्यवसायीलक्षित यस्तो अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन दाहालले बताए । यही फागुन ६ गतेको उक्त अभिव्यक्तिलाई महासंघले ‘सस्तो लोकप्रियताका लागि गरिएको निकृष्ट र गैरजिम्मेवार’ कदम भन्दै यसबाट ३० हजार व्यवसायीको मानमर्दन भएको जनाएको छ ।

सोमबार (फागुन ११) काठमाडौंमा महासंघले गरेको पत्रकार सम्मेलनमा दाहालले भने, “इन्जिनियरिङ पृष्ठभूमि भएका जिम्मेवार नेताबाट वास्तविक समस्याको पहिचान नगरी व्यवसायीलाई मात्र दोषी देखाउनु खेदजनक छ । यसप्रति अविलम्ब सार्वजनिक माफी माग्न हामी जोडदार माग गर्दछौँ ।”

मुलुकभर झन्डै ३० हजार आयोजना अलपत्र अवस्थामा रहेको र राज्यको अदूरदर्शी नीतिका कारण निर्माण क्षेत्र ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको महासंघले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस