सूर्यको प्रकाश भिटामिन डीको मुख्य स्रोत हो। पर्याप्त मात्रामा घाम नलिँदा शरीरमा भिटामिन डीको कमी हुन थाल्छ। भिटामिन डीको कमीले शरीरलाई एउटै होइन, धेरै तरिकाले असर गर्छ।
भिटामिन डीले क्याल्सियमसँग मिलेर हड्डीलाई बलियो बनाउने काम गर्छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन, मांसपेशीलाई सही रूपमा काम गर्न र मस्तिष्कका कोषहरू सक्रिय राख्न पनि सहयोग गर्छ।
शरीरमा भिटामिन डीको कमी हुँदा देखिने प्रमुख लक्षणहरू यसप्रकार छन्—
हड्डी दुख्ने : भिटामिन डीको कमी हुँदा शरीरले क्याल्सियम राम्रोसँग अवशोषण गर्न सक्दैन। यसले हड्डी कमजोर बनाउँछ र हड्डीमा लगातार दुखाइ हुन सक्छ।
मांसपेशी दुख्ने : विशेषगरी छाती वा ढाडको तल्लो भागका मांसपेशीहरूमा दुखाइ महसुस हुन सक्छ।
बारम्बार बिरामी पर्नु : भिटामिन डीको कमीले इम्युनिटी कमजोर बनाउँछ, जसका कारण व्यक्ति बारम्बार रुघाखोकी वा अन्य रोगले ग्रसित हुन सक्छ।
घाउ ढिलो निको हुनु : चोट लागेको घाउ सामान्यभन्दा ढिलो निको हुँदैछ भने यो भिटामिन डीको कमीको संकेत हुन सक्छ।
थकान र कमजोरी : सधैँ थकाइ लाग्ने, शरीरमा शक्ति नभएको जस्तो महसुस हुनु पनि भिटामिन डीको कमीका लक्षण हुन्।
डिप्रेसन र मूड स्विङ : मस्तिष्कमा भिटामिन डीका रिसेप्टरहरू हुन्छन्, जसले मुड नियन्त्रण गर्छन्। त्यसैले यसको कमी हुँदा डिप्रेसन र मुड स्विङ देखिन सक्छ।
कपाल झर्नु : धेरै मात्रामा भिटामिन डीको कमी हुँदा कपाल झर्ने समस्या पनि देखिन सक्छ।
भिटामिन डीको कमी कसरी पूरा गर्ने ?
घाम लिनुहोस् : बिहान ८ बजेदेखि ११ बजेसम्मको घाम सबैभन्दा उपयोगी हुन्छ। दैनिक १५–२० मिनेट घाममा बस्नु राम्रो हुन्छ।
सन्तुलित आहार लिनुहोस् : दूध, दही, माछा, अण्डाको पहेँलो भाग (जर्दी), मशरूमजस्ता खानेकुरा खानुहोस्। भिटामिन डी मिसाइएको (फोर्टिफाइड) दूध र जुस पनि उपयोगी हुन्छ।
आवश्यक परे सप्लिमेन्ट : डाक्टरको सल्लाहमा भिटामिन डीका सप्लिमेन्ट लिन सकिन्छ।


