मानिसको मनोविग्यान अध्ययन गर्दा फ्रायडले दुई तहको मानवीय चाहनाको सपना चर्चा गरेका छन् । एक, अर्धचेतनमा रहेको चाहनाको सपना, जसलाई फ्रायडले लुप्त सपना (latent dream) भनेका छन्। दोश्रो, अर्धचेतनामा रहेको सपनाहरूमा विम्वहरुमार्फत् अभिव्यक्त हुने प्रकृयाका सपना, जसलाई व्यक्त सपना (manifest dream) भनेका छन् । मैले नेपालको राजनीतिक आन्दोलनमा कांग्रेस र कम्युनिष्टहरुको बहुदलीय प्रजातन्त्र र गणतान्त्रिक लोकतन्त्रको भूराजनीतिलाई फ्रायडको लुप्त र व्यक्त सपनाका रुपमा चित्रण गर्ने सोच बनाएको छु । यसमा हिजोको उदयमान शक्तिको र अहिलेको संकटमा भूराजनीतिक मियो कांग्रेसबारे जोड दिन खोजेको छु ।
१) कम्युनिष्टहरुको शुरुवाती धार :
नेपाली कम्युनिष्टहरु सोसियल डेमोक्रेटिक धार खुलस्त पक्रनु वा त्यो धारको नजिक हुनु अघि यी तीन धार मुलतः थिए ।
प्रथम, पुष्पलाल शुरु देखि नै कांग्रेससँग कार्यगत एकता गरेर राजतन्त्रको विरुद्ध संघर्ष गर्नुपर्छ भन्ने लाइनमा थिए ।
दोश्रो, सैध्दान्तिक रुपमा कम्युनिष्टहरु गणतन्त्रवादी भए पनि डा.केशरजंग रायमाझीले राष्ट्रको मियो नेपाल एकीकरणको लिगेसी राजसंस्था भएकोले उसको नेतृत्व स्विकार गरेर समाजवादी कार्यक्रम लागू गर्नुपर्छ भन्ने धारमा थिए ।
तेश्रो, मनमोहन अधिकारी वैधानिक राजसंस्था स्विकार गरेर देशभक्त र कम्युनिष्टहरुको सहकार्यको लाइनमा थिए ।
चौथो, मोहन विक्रम सिंह शुरुमा पुष्पलाल धारमा थिएनन् तर रायमाझी र मनमोहन अधिकारीकै लाइनमा देखिए पनि १८ सालको दरभंगा प्लेनमबाट विधान सभाको चुनावको माग राखेर फरक धार सृजना गरे ।
२) १९९० पछिको नेपालका कम्युनिष्टहरु मुलतः सोसियल डेमोक्रेसी झुकावको धार नै हो ।
प्रथम, एमालेले खुल्लमखुल्ला जबज भनेर भाइ कांग्रेस भएर सामाजिक प्रजातन्त्रको राजनीति अभ्यासमा छ मदनकुमार भण्डारीको जवजमार्फत् ।
दोश्रो, माओवादी एक्काइसौं शताब्दीको जनवाद भनेर एमालेको जवज राजनीतिको वरपर घुमिरहेको छ ।
तेश्रो, नेकपा मसालले पनि रिमसंगको संस्थापक सदस्यको हैसियतले बाहिर माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा भने पनि व्यवहारमा कांग्रेसको सोसियल डेमोक्रेसी र एमालेको जवजको राजनीतिको वरपर कम्युनिष्ट आन्दोलनको रक्षा भन्दै संसदीय चुनावी राजनीतिमार्फत् चक्कर कटाइरहेको छ ।
मोहनविक्रम सिंहले कम्युनिष्ट आन्दोलन मुलतः स्टालिन पछि खुश्चेवको उदय, शितयुद्धमा सोभियत संघको विघटन पुर्व समय, चीनमा सांस्कृतिक क्रान्तिपछि देङ स्याओ पिङ, ल्यु साओचिको उदय नै समाजवादी ध्रुवका सोभियत संघ र चीन जस्ता देशहरूको संशाधनवादी र सामाजिक साम्राज्यवादी भन्दै आलोचना गरेका थिए । यसको पछाडि उनी रिमका संस्थापक सदस्य थिए र बब अबाकिन अमेरिकी कम्युनिष्ट पार्टीको त्यसको अध्यक्ष थिए । रिमको प्रभावले उनी चीन र सोभियत संघ जस्ता समाजवादी मुलुकहरुप्रति पछि सकारात्मक रहेनन् र आलोचक रहे । ४८ सालमा संसदीय निर्वाचनमा वहिस्कार गरेर कांग्रेसको सोसियल डेमोक्रेसीको राजनीतिलाई वैधानिकता प्रदान गर्न उनको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका देखिन्छ । नेपालको पश्चिम क्षेत्रमा मसालले वहिस्कार नगरेको भए ४८ सालको संसदीय राजनीतिमा वामपन्थीकै बाहुल्यताको राजनीतिको प्रक्षेपण गरिएको थियो। तर उनको भूमिकाले संसदमा कांग्रेसले स्पष्ट बहुमत ल्यायो र सरकार बनायो।
३) कांग्रेस मियो राजनितिको कारण :
पुष्पलाल सधै लोक–वाम गठबंधनको पक्षमा थिए । उनले १७ सालको घटनापछि १८ वर्ष भारतमा निर्वासनको जीवन बिताए र भारतमै ३५ सालमा देहान्त भयो । तर राजसंस्थालाई राष्ट्रिय शक्तिको रुपमा पुष्पलालले कहिल्यै विश्लेषण गरेनन् र राजासँग संझौताको राजनीति कहिल्यै अबलम्बन गरेनन् । बरु विपीले ३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर राजासँग संझौताको राजनीति लिए । ४६,६२/६३ को आन्दोलनको लोक–वाम गठबंधनको राजनीतिको वैचारिक शुरुवात पुष्पलालले नै गरेका थिए । ४६ सालमा लोक–वाम गठबंधन नेपालमा राजसंस्थाविरुद्ध बन्यो, यसको परिणाम पश्चिमा सोसियल डेमोक्रेसीलाई आदर्श मान्ने कांग्रेसको राजनीति सधै मियो बनिरह्यो ४६, ६२/६३ आन्दोलनमा र २०७२ सालको संविधान घोषणामा समेत कांग्रेसको नेतृत्वमा सरकार बनाएर यी सबै एजेण्डाको इन्डोर्स भयो ।
४६ सालअघि लोक–वाम गठबंधन नहुँदासम्म कांग्रेस पनि ब्यक्त सपना(manifest dream) मै थियो, किनकि सबै राजनैतिक एजेण्डाका कुरा आफै व्यक्त गर्दथ्यो। तर समाजवादी धारको मियोको राजनीति १९९० पछि सोभियत संघ विघटनको घटनाले रहेन, कम्युनिष्टहरु कांग्रेसकै उदारवादी प्रजातन्त्रको छत्रछायाँमा रहेको प्रजातान्त्रिक समाजवादको मोडेलको कार्यक्रमको नजिक पुगे । वामपन्थी राजनीतिका विभिन्न धारहरु कांग्रेसको सोसियल डेमोक्रेसीलाई सैध्दान्तिक रुपमा मुख्य ग्रह मानेर उनीहरु उपग्रह वनी कांग्रेसकै वरपर घुमिरहे र अहिले पनि घुमिरहेका छन् ।
कांग्रेस लुप्त सपनामा छ किनकि पश्चिमा उदारवादी प्रजातन्त्रको मियोको राजनीतिमा उ नै हो । कम्युनिष्टहरु त्यो उदारवादी प्रजातन्त्रको राजनीतिमा मियो बन्ने शक्ति र सामथ्र्यको लिगेसी नै छैन र कांग्रेसको व्यक्त सपनामा उनीहरू प्रकट भइरहेका छन् । धर्म निरपेक्षता, लोकतन्त्र, उदारवाद, खुला बजार अर्थतन्त्र, मानव अधिकार, विपीको ७ सालको विधान सभाको चुनाव, समावेशी, पहिचान, संघीयता, व्यक्तिको स्वतन्त्रता जस्ता एजेण्डाहरु कांग्रेसकै एजेण्डाहरु हुन् । उदारवादी प्रजातन्त्रको एकछत्रतामा कांग्रेसले धेरै हल्ला गर्न परेन यी एजेण्डाहरुमा किनकि उसको स्वतः लिगेसीको हक लाग्छ । कम्युनिष्ट आन्दोलनको रक्षात्मक अवस्थामा रहेका वामपन्थीहरुले धेरै व्यक्त गरिरहनु पर्याे उदारवादी प्रजातन्त्रका यी एजेण्डाहरु । प्रचण्ड, ओली, माधव, झलनाथ, मोहन विक्रम, वैद्य, बाबुराम, विप्लव जस्ताहरुको लोकतान्त्रिक गणतन्त्र र उदारवादी प्रजातन्त्रका एजेण्डाहरुमा वकालतीका कारणको खोजी यिनै मनोविग्यानले काम गरेको छ ।
४) वहुध्रुवीय राजनीतिले संकटमा कांग्रेसः
३६ सालको जनमतसंग्रह, ४६, ६२/६३ को आन्दोलन र ७२ सालको संविधान घोषणामा कांग्रेस मियोको राजनीति रहयो नेपाली राजनीतिमा। किनकि कांग्रेस पश्चिमा उदारवादी प्रजातन्त्रको मियो वा केन्द्रीय राजनीति थियो। दोश्रो विश्व युद्धपछि विश्वव्यापी रुपमा समाजवादी र पूँजीवादी शासन प्रणालीको दुई ध्रुविय प्रणालीको अन्तरविरोध मूख्य थियो। सन् १९९० मा सोभियत संघको विघटनपछि अमेरिकी उदारवादी प्रजातन्त्रको एक ध्रुविकरण आधिपत्य करिब तीन दशकसम्म रह्यो। अमेरिकामा ट्रम्पको उदय, चीनमा सि जिनपिङको आगमन, रुसमा पुटिनको शसक्त नेतृत्व, भारतमा मोदीको उदय, मध्यपूर्वको इरानमा मुश्लिम धार्मिक नेता आयोतल्ला खुमेनीको प्रभावकारिता जस्ता विश्वव्यापी घटनाहरुले उदारवादी प्रजातन्त्रको एजेण्डाको साथै परम्परावादी एजेण्डाहरुले प्रभावकारी ठाउँ लिदै गएका छन् र उदारवादी प्रजातन्त्रको आधिपत्यता संकट गहिरिदो देखिदैछ ।
चीन र रुस जस्ता देशहरू हिजोको कम्युनिष्ट राज्यसत्ताबाट पाठ सिकेर सभ्यताको राजनीतिक इतिहासको वहुध्रुवीय एजेण्डाबाट उनीहरु पुनः र्जिवित हुँदैछन् । यसले कांग्रेसको पश्चिमा उदारवादी प्रजातन्त्रको मियोको एकछत्र नेपाली घरेलु राजनीति संकटमा पर्दैछ । किनकि अबको उदाउँदो विश्व राजनैतीक व्यवस्था अमेरिका र पश्चिमा जगतको एकल ध्रुवीय राजनीतिक प्रणाली होइन । ४६ सालदेखि घरेलु राजनीतिमा न त कांग्रेसले मियो भएर समृद्ध नेपालको नेतृत्व गर्न सक्यो न त भूराजनीति सन्तुलित भूमिका । अबको उदाउँदो विश्व राजनैतीक व्यवस्थामा काङ्ग्रेस मियो राजनीति उसको सैद्धान्तिक धारले पनि दिदैन । काङ्ग्रेस पनि कम्युनिष्टहरु जस्तै रक्षात्मक भूमिकामा देखिदैछ । कम्युनिष्टहरु त रक्षात्मक अवस्थामा सोसियल डेमोक्रेसीको एजेण्डामा जवर्जस्त ठोकिए शित युद्ध अन्त्यपछि ।
५) निश्कर्षः
विगतको पृष्ठभूमिकाले अबको घरेलु राजनीतिमा मियो देशभक्त शक्ति राजसंस्था नै पुनः स्थापित भएर हुने संभावनालाई इन्कार गर्न सकिदैन। किनकि हिजोको भूराजनीतिले खडा गरेका पश्चिमेली एजेण्डा इन्डोर्स गरेको शक्तिकेन्द्र वहुध्रुवीय राजनीतिले आफै संकटमा छ । समयमा छिट्टै सबै राजनैतिक शक्तिहरूलाई वहुध्रुवीय भुराजनीति जागरणको चेतना होस् र सद्बुद्धि पनि देओस् घरेलु आवश्यकताको द्वन्द्व व्यवस्थापनका लागि राजा र दलहरुवीचको।


