काठमाडौं– नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ।
यसअघि पोस्टर, प्रि–टिजर, टीजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको यो फिल्मले ट्रेलरमार्फत अझ व्यापक रूपमा चर्चा बटुलेको छ ।
ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ । अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन् । उनले छोरासँग, “देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्” भन्दै वचन लिन खोज्ने दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ ।
यसपछि दर्शकले आतुरतापूर्वक प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवेश हुन्छ। उनले उच्च स्वरमा घोषणा गर्छन्–
‘मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु । जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु’ । यो संवादसँगै उनी शक्तिशाली एक्सनमा उत्रन्छन्। उनका लडाइँका दृश्यहरू यति तीव्र छन् कि लाग्छ उनले आफ्नो सम्पूर्ण शक्ति स्क्रिनमा पोखिदिएका छन् ।
ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबीचको द्वन्द्व दृश्य विशेष रूपमा उभिएको छ ।
कहिलेकाहीँ समीरले दर्जनौँ खलनायकहरूसँग एक्लै लड्ने दृश्य देखिन्छ, जसले दर्शकलाई जिरिङ्ग बनाउँछ। छायाङ्कन, संवाद र ब्याकराउन्ड स्कोरले ट्रेलरलाई उच्चतम विन्दुमा पुर्याएको छ ।
यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको शक्तिशाली संवाद र ऋचा शर्माको भावनात्मक प्रश्नले दर्शकलाई देशभक्ति र क्रोधको भावनामा डुबाएको थियो । निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रको रूपमा देखिएका दृश्यले टिजरलाई थप रोचक बनाएको थियो ।
ट्रेलरसम्म आइपुग्दा फिल्म ‘बलिदान’ लाई नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै प्रतीक्षित नेपाली फिल्मका रूपमा हेरिएको छ । निर्देशक सेनले यसअघि नै ‘बलिदान’ लाई केवल फिल्म नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका थिए ।
यसबीचमा, फिल्मको शीर्ष गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक भई चर्चामा छ । सुजन चापागाईँको स्वर र सङ्गीत, हर्क साउदको शब्दमा तयार गीतले जनमानसमा लोकप्रियता पाइरहेको छ ।
‘आसुसेन फिल्म्स प्रा।लि।’को ब्यानरमा बनेको यो फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
यो वर्षको बडादसैँको फूलपातीको दिन (असोज १३ गते) प्रदर्शनमा आउने ‘बलिदान’ नेपाली फिल्मको इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ।


