दाङको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

२०८२ भदाैँ २४ गते बेलुका ६ः०० बजेदेखि लागू हुने कर्फ्यु अर्को आदेश जारी नहुँदासम्म कायम रहने जिल्ला प्रशासन कार्यालय घोराही, दाङले जनाएको छ।

देशका विभिन्न जिल्लाहरूमा भइरहेको विरोध प्रदर्शन र त्यसक्रममा भएका तोडफोड, आगजनी तथा हिंसात्मक घटनाहरूका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै दाङ जिल्लाभित्रका केही संवेदनशील क्षेत्रमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिएका छन्।

कर्फ्यु आदेश अन्तर्गत राप्ती, तुलसीपुर, घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाका केही क्षेत्र समेटिएका छन्।

कर्फ्यु लागेका क्षेत्रहरूः

राप्ती उपमहानगरपालिकाः
गोपलपुरदेखि भालुवाङ पुल, भालुवाङ बजार क्षेत्र, प्रदेश सभा तथा मुख्यमन्त्री कार्यालय वरिपरिका क्षेत्र

बबई गाउँपालिकाः
शिग्राह चोकदेखि गोराहा बोर्डिङ स्कुल, कुदा खोला पुलदेखि सेवा खोला पुलसम्म, फुर्सुङ्गी, दोहरी स्कुल आसपासका क्षेत्र

तुलसीपुर उपमहानगरपालिकाः
पूर्वमा कृष्ण मन्दिरदेखि पश्चिममा आँखा अस्पताल हुँदै दक्षिण एयरपोर्ट क्षेत्र

घोराही उपमहानगरपालिकाः
अर्नल, अर्जुन खोला पुलदेखि कोलेली पुलसम्म

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोग तथा हवाई टिकट देखाएर हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै, उल्लंघन गर्ने विरुद्ध कानुनी कारवाही गरिने स्पष्ट चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस