रामहरि खतिवडाले लिए सभामुखसँग शपथ

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ विशेष समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संघीय सचिवालय सिंहदरबारमा आयोजित समारोहमा सभामुख देवराज घिमिरेले खतिवडालाई सभापतिको शपथ गराएका हुन् । खतिवडा यही भदौ २० गते शुक्रबार निर्विरोध निर्वाचित भएका थिए ।

संघीय निजामती विधेयको कुलिङ पिरियडसम्बन्धी विवादमा परेर राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा गरेका खतिवडालाई कांग्रेसले सुनुवाइ समितिको सभापति बनाउने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य रहने सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित प्रधानन्यायाधीश, न्यायाधीश र संवैधानिक निकायका पदाधिकारी तथा राजदूतहरूको सुनुवाइ गर्ने गरेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस